
पोखरा । पोखराको सेदीबाट अन्तर्राष्ट्रिय अनलाइन जुवा तथा सट्टेबाजी कारोबारमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त गिरोहले २० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरमा गोप्य सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेको थियो। सो क्रममा दार्चुलाका ३१ वर्षीय दिनेशसिंह बोहरासहित सात भारतीय नागरिक गरी आठ जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकमध्ये ३४ वर्षीय सत्यम सिंहले गिरोहको नेतृत्व गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छापाका क्रममा प्रहरीले अनलाइन जुवा सञ्चालनका लागि प्रयोग हुँदै आएका ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ३४ थान भारतीय सिमकार्ड, २ थान राउटर, १ थान यूपीएस, १ थान १२ भोल्टको ब्याट्री, १६ थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा गिरोहले सफ्टवेयर कम्पनी चलाउने बहानामा २०८२ साल चैत १८ गतेदेखि ७ कोठाको घर भाडामा लिएर गतिविधि सञ्चालन गरेको खुलेको छ। उनीहरूले टेलिग्राम र ह्वाट्सएपमार्फत लिंक पठाई ग्राहकलाई रकम जम्मा गराउने, त्यसपछि क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन सट्टेबाजी गराउने व्यवस्था मिलाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। हारजितको आधारमा जित्ने व्यक्तिलाई अनलाइनमार्फत नै रकम भुक्तानी गर्ने गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको बयानबाट गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्दै आएको खुलेको छ। सम्पूर्ण आर्थिक कारोबार भारतीय बैंक खाता तथा डिजिटल वालेटमार्फत सञ्चालन हुने गरेको अनुसन्धानमा देखिएको छ।
यो केन्द्र भारतीय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको र यहाँ कार्यरत व्यक्तिहरूले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद कम्प्युटर तथा डिजिटल अभिलेखको विश्लेषण गर्दा तीन फरक खातामा क्रमशः एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक हिसाबमै २० करोड रुपैयाँभन्दा बढीको कारोबार देखिएपछि यसमा अन्तर्राष्ट्रिय संगठित सञ्जालको संलग्नता रहेको आशंकासहित अनुसन्धान अघि बढाइएको छ।
यस घटनामा विभिन्न भारतीय बैंक तथा डिजिटल भुक्तानी प्रणाली प्रयोग भएको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ। बरामद विद्युतीय उपकरण, आर्थिक कारोबार, बैंकिङ विवरण तथा घटनामा संलग्न अन्य व्यक्ति र सम्भावित अन्तरदेशीय सञ्जालबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।






