पोखरामा ‘मणि’ भनेर १० लाख ठगी, पुनः २० लाख ठग्न खोज्दा ६ पक्राउ

पोखरा ।  बहुमूल्य ‘मणि’ (क्रिस्टल) भन्दै एक व्यक्तिलाई १० लाख रुपैयाँ ठगी गरी पुनः २० लाख रुपैयाँ थप असुल्न खोज्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार म्याग्दी, पर्वत र कास्कीका विभिन्न स्थानका ६ जनाले पोखरा -१८ निवासी दिपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई क्षणभरमै ढकमक्क फुलमा परिणत गर्न सक्ने अद्भुत शक्तिशाली बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाएर विश्वासमा पारेका थिए।

प्रहरीका अनुसार उनीहरूले उक्त क्रिस्टलको अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दा अर्बौं रुपैयाँ प्राप्त हुने प्रलोभन दिँदै पीडितबाट २०८२ फागुन महिनामा नगद १० लाख रुपैयाँ ठगी गरेका थिए। त्यसपछि हिजो आइतबार पुनः सम्पर्क गरी विभिन्न किसिमका डर, त्रास र धम्कीसमेत  दिदै थप २० लाख रुपैयाँ मागेका थिए।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब १२ः३० बजे पोखरा महानगरपालिका–२६ कालिकास्थान छहारीबाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–२६ कालिकाचोक बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका–५ का २९ वर्षीय दिपक गोतामे, पोखरा–२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विश्वकर्मा, सोही स्थानकी २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, चार्जर एक थान तथा मोबाइल फोन ६ थान बरामद गरेको जनाएको छ।

घटनामा संलग्न सबैलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको डिएसपी पासवानले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button