ठूलो मात्रामा लागूऔषधसहित कारमा पोखरा भित्रिएका ५ भारतीय पक्राउ

पोखरा ।  पोखरामा ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट १ हजार ८ सय ४८ एम्पुल विभिन्न किसिमका इन्जेक्सन, ५१० वटा प्रतिबन्धित ट्याब्लेट तथा एउटा भारतीय नम्बर प्लेटको कार बरामद भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले आइतबार राति करिब १० बजे पोखरा –३२ मझुवामा सवारी चेकजाँच गर्ने क्रममा भारतबाट पोखरातर्फ आउँदै गरेको UP53EY7704 नम्बरको कार रोकेको थियो।

प्रहरीले कारको सूक्ष्म जाँच गर्दा विभिन्न भागमा लुकाइछिपाइ राखिएको डाईजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी जम्मा १ हजार ८ सय ४८ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ।

त्यसैगरी कारबाट नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा मोबाइल फोन ५ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्रा, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अबिशेक कुमार पक्राउ परेका छन्।

पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button