
पोखरा । हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ ।
आज कै दिन कण्डारक नाम गरेको रात्रिचरको राति पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको लुतो, खटिरा जस्ता छालाको रोग निको हुने शास्त्रीय मान्यता रहेको छ ।
साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिने भएकाले यस महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । यही आस्थाका कारण साउन महिनामा सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउनमा चार सोमबार पर्नुलाई अझ विशेष रुपमा लिने गरिन्छ। यस वर्षको साउनमा चार सोमबार परेका छन् ।
साउन महिनाभर पोखरामा पुम्दिकोट, केदारेश्वर मन्दिर, गुम्तेश्वर महादेव गुफा, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर लगायतका शिवालयहरुमा विशेष भीड लाग्छ । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा साउन महिनाभर पुजापाठका लागि भक्तजनको भीड नै लाग्ने गर्दछ ।
साउन महिनामा महिलाले हरियो चुरा र हरियो पहिरन लगाएर प्रकृतिसँग नजिक महशुस गर्ने समेत गर्दछन ।





