
पोखरा । पोखरामा अफलाइन यात्रु बोक्ने ९ चालक कारबाहीमा परेका छन् । कुनै पनि स्वीकृत अनलाइन राइडसेयरिङ प्लेटफर्ममा आबद्ध नभई अवैध (अफलाइन) रूपमा भाडा लिएर यात्रु ओसारपसार गरिरहेका दुईपाङ्ग्रे सवारीका ९ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार शुक्रबार अफलाइन यात्रु बोक्ने र बढी रकम माग गर्ने गुनासोपछी पोखरा ९ स्थित बसपार्क क्षेत्रमा सवारी चेकजाँचका क्रममा ती चालकहरूलाई नियन्त्रणमा लिइएको हो।
चेकजाँचका क्रममा स्वीकृत अनलाइन राइडसेयरिङ प्लेटफर्ममा दर्ता नभई व्यक्तिगत मोटरसाइकल प्रयोग गरेर अवैध रूपमा यात्रु बोक्दै आएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ।
ट्राफिक प्रहरीले यात्रु ओसारपसार सेवा सञ्चालन गर्दा सरकारले स्वीकृति दिएका अनलाइन राइडसेयरिङ प्लेटफर्ममार्फत मात्रै सेवा सञ्चालन गर्न तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सम्बन्धित सबै चालकलाई आग्रह गरेको छ। साथै, यात्रुलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवामार्फत मात्र यात्रा गर्न अनुरोध गरिएको छ।





