पोखरामा पहिरोले सेती थुनिदा खोच भित्र विशाल ताल बन्यो

जोखिमको सम्भावना

पोखरा । पोखरा महानगरपालिकाको वडा १७ र १५ को सिमाना क्षेत्रमा सेती नदी थुनिएको छ । रातोपैह्रा स्थित पोखरा पर्वतीय संग्रहालय अगाडिपट्टीको खोचको भागमा सेती नदी थुनिएको हो । खोचमा पहिरोले पुरिदा झन्डै ५०–६० मिटर अग्लो भागबाट झरनाको रुप लिएर नदी झर्न थालेको छ भने खोचको भाग तालमा परिणत हुन् थालेको छ ।

शुक्रबार नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खसेपछि पहिरोले नदीलाई थुनेको हो ।  सोही स्थानमा तीन महिना अघि पनि पहिरो खसेको भएपनि पानीको सतह कम भएका नदीको पानी तलबाट छिरेर बहेको थियो ।

पोखरा १७ कि वडाध्यक्ष राधिका कुमारी शाहीले पहिरोको कारणले नदी थुनिएकाले ५० मिटर बढी सतह बढेको र खोच भित्र विशाल ताल बनेको भन्दै सतर्कता अपनाउनुपर्ने बताएकी छन् ।

खोचमा ताल बनेको कारण दायाँ बायाँ तर्फको जमिन भाँसिएर विपद निम्त्याउन सक्ने भएकाले रातोपैह्रा, महत्तगौड़ा, लामातारा, दोबिल्ला लगाएत वडा नं १५, २१,१४,३३,२९,३२ का साथै तनहु जिल्लाको सेती नदीको दायाँ बायाँका बस्तीका बासिन्दालाई सचेत हुन् र सुरक्षित रहन वडाध्यक्ष शाहीले अनुरोध गरेकी छन् ।

उनले जिल्ला बिपद समितिबाट दक्ष टिम परिचालन गरी थुनिएको  नदीलाई पहिलाकै अवस्थामा फर्काउन पहल गर्नुपर्ने बताएकी छन् ।

सेती थुनिएर झरनाको रुप लिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । माथिल्लो खोचमा थुनिएर तालको रुप धारण गरेको नदी एक्कासी फुटेर बाढी आउने सम्भावित खतराले स्थानीयहरु त्रासमा रहेका छन् ।

पोखराको रामघाटमा पनि दक्षिण तर्फको भेगमा साँघुरो मुख थुनिदा सेती नदीले वर्षेनीजस्तो ताल रुप लिने गर्दछ । भारी वर्षातको समयमा रामघाटमा ताल बन्दा वरपरका सुकुम्बासीका टहरासहितको बस्ती डुबानमा पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button