पोखरामा खोलाले बगाएर बेपत्ता भएका बालकको शव तनहुँमा फेला

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव तनहुँमा फेला परेको छ । बुधबार तनहुँ शुक्लागण्डकी–८ पुल्चोकस्थित सेती नदी किनारमा १५ वर्षीय ओमन राईको शव भेटिएको हो।

खोटाङ घर भई चाउथेमा बस्दै आएका ओमनको परिवारले शव पहिचान गरेका छन् । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा लगिएको प्रहरीले जनाएको छ ।

साउन ३० गते दिउँसो करीब १ बजेर २० मिनेटको समयमा पोखरा २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट साथीहरुसहित विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका थिए ।

स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई पोखरा १४ छिनेडाँडा बस्दै आएका अर्का १४ वर्षिय बालक निक्सन गुरुङको शव मंगलबार फेला परेको थियो ।

घटनास्थल भन्दा करिव डेढ किलोमिटर पर पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा भत्किएको पर्खालमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो ।

घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको टोली खोजी तथा उद्धार कार्यमा निरन्तर खटिएको थियो ।
घटनाको चार दिनपछि निक्सन र पाँच दिनपछि ओमनको शव भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button