पोखरा-दुबई नियमित उडान: ३० दिनमा ६ हजार ३६२ जनाले गरे यात्रा  

पोखरा न्यूज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाईदुबईले नियमित उडान थालेको एक महिना पुगेको छ ।

फ्लाईदुबईले २३ सेप्टेम्बरदेखि पोखरा–दुबई नियमित उडान थालेको हो । यस अवधिमा फ्लाईदुबईले ३० वटा सफल उडान गरेको छ ।

दुबईबाट पोखरा ४ हजार ५२१ जना अवतरण गरेका छन् भने र पोखराबाट १ हजार ८४१ यात्रु दुबई प्रस्थान गरेका छन् । कुल गरी ६ हजार ३ सय ६२ यात्रुले यात्रा फ्लाईदुबईको विमानबाट सेवा लिएका छन् ।

फ्लाईदुबईले यो एक महिना सफल उडान गरेको मात्र छैन कम्पनीले सन् २०२७ को अक्टोबरसम्म अग्रिम टिकट बुकिङ खुला गरी उडान निरन्तर हुने सुनिश्चितता समेत दिलाएको छ । पोखरा विमानस्थल चल्दैन , कुनैपनि विदेशी एयरलाइन्स कम्पनीले नियमित उडान गर्दैनन् भन्ने जस्ता हल्लालाई चिर्दै फ्लाईदुबईले दिएको सुखद खबरबाट समग्र पोखरावासीले खुसी व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  उडान सुरु भएको पहिलो महिनाको उपलब्धि उत्साहजनक रहेको बताउनुभएको छ ।

आगामी एक वर्षसम्म अग्रिम टिकट बुकिङ खुला गरी नियमित उडानलाई सुनिश्चितता गरेको भन्दै मेयर आचार्यले फ्लाईदुबईको व्यवस्थापन टोलीप्रति पोखरेली नागरिकहरूको तर्फबाट धन्यवाद तथा कृतज्ञता ब्यत गर्नुभएको छ ।

“….ऐतिहासिक हवाई सम्पर्कलाई सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरी उडान निरन्तर हुने सुनिश्चितता गरिदिनुभएकोमा फ्लाईदुबईको व्यवस्थापन टोलीप्रति पोखराका सम्पूर्ण नागरिकहरूको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु,” आचार्यले भन्नु भएको छ ।

आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक रहेको भन्दै उहाँले पोखराबाट जाने यात्रुको सङ्ख्या बढाएर सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो।

यसका लागि पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नका लागि  मेयर आचार्यले अनुरोध समेत  गर्नुभएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button