तनहुँमा पर्यटकीय गाउँ चिनाउन उकालो दौड प्रतियोगिता हुने

तनहुँ । तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

आयोजक क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले १८ देखि ४५ वर्ष उमेर समूहमा महिला र पुरुष सहभागी हुने गरी खुला दौड प्रतियोगिता हुने जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोक सहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थलको अवलोकन र दृश्यावलोकन मार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ ।

प्रतियोगितामा दौड सहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल खनालले जानकारी दिए । अध्यक्ष खनालले देशभरका २०० जना धावक सहभागी गराउने उद्देश्य रहेको र उत्कृष्ट २० जनासम्मलाई मेडल मार्फत सम्मान गर्ने बताए ।

प्रतियोगितामा सहभागी भई विजेता हुने प्रथम सहित पाँचौँ सम्मका धावकलाई क्रमशः, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ र तीन हजार तीन सय ३३ नगद सहित सम्मान गरिने कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दुरीमा प्रतियोगिता हुने जनाउँदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु दुई सय ५० शुल्क लाग्ने बताए ।

क्लबले यस अघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगिता अव वर्षेनि आयोजना गर्ने क्लबले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका २ भुजिकोट –स्थानथोकबाट पोखराका ताल तलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यावलोकन, राष्ट्रिय फुल लालिगुरासको अवलोकनका साथै ग्रामीण परिवेश नियाल्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button