
पोखरा । भदौ २४ गते कास्की कारागारमा भएको आगजनी र तोडफोडपछि फरार भएका ७७३ जना कैदीबन्दीमध्ये ४७६ जना पुनः कारागार फर्किएका छन्। कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार प्रशासनले तोकेको समयसीमाभित्र सोमबार बेलुकासम्म उनीहरू उपस्थित भएका हुन्।
‘सोमबार बेलुकासम्म ४७६ जना कारागार फर्किएका छन् । बाँकी २९७ जना मध्ये केही अन्य काराकारमा सम्पर्कमा पुगेको भन्ने छ,’ कारागार प्रमुख शर्माले पोखरा न्यूजसँग भने, ‘आजबाट सरकारी कार्यालय खुल्ने भएकाले को -को फर्किए र को बाँकी छन् भनेर तथ्याङ्क हेरेर खोजतलास र कारबाही अगाडि बढ्छ ।’
कारागार प्रशासनले असोज १२ गते सूचना जारी गर्दै फरार बन्दीहरूलाई असोज २० गतेभित्र फर्किन आग्रह गरेको थियो । त्यसपछि सोमबार बिहान अर्को सूचना प्रकाशित गर्दै नफर्कने कैदीबन्दी तथा उनीहरूलाई आश्रय, सहयोग वा लुकाउने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी दिएको छ ।
कारागार कार्यालयका अनुसार नफर्कने वा फरार बन्दीलाई सहयोग गर्नेहरूमाथि कारागार ऐन २०७९ र सम्बन्धित कानुनअनुसार कारबाही गरिनेछ । कारागार नफर्कने वा फरार बन्दीलाई लुक्न सहयोग गर्नेहरूको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेत र कारागार प्रशासक राजेन्द्र शर्मालाई दिन आग्रह गरिएको छ।
कारागार ऐन २०७९ अनुसार, कारागारबाट भाग्ने व्यक्तिलाई ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। त्यस्तै, कसैले बन्दी भगाएको प्रमाणित भएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
फरार रहेका बन्दीको खोजतलास तथा निगरानीलाई प्रशासनले थप तीव्र पार्ने जनाएको छ।