
पोखरा । कास्की प्रहरीले सवारी दुर्घटनामा संलग्न भई फरार भएका चालकलाई सुमो जिपसहित पक्राउ गरेको छ।
नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको नम्बर नखुलेको जिपले आइतबार साँझ करिब ६:४० बजे पोखरा -२५ हेम्जामा एक ५५ वर्षीय पुरुषलाई ठक्कर दिई गम्भीर घाइते बनाएर फरार भएको थियो ।
पहिचान नखुलेका ती घाइतेलाई उद्धार गरी तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लागिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापश्चात् अनुसन्धान थालेको कास्की प्रहरीले घटनामा संलग्न सवारीसाधन र चालकलाई सोमबार पोखरा १० स्थित रङ्गशाला गेट अगाडिबाट नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–१ घर भई पोखराको फूलबारीमा बस्ने २८ वर्षीय सुशील सुनार रहेका छन् । उनलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।
जेन-जी आन्दोलनका क्रममा पोखराको सडक छेउमा रहेका सिसिटिभी क्यामेराहरू तोडफोड हुँदा हिट एण्ड रन केसमा अनुसन्धान गर्न कठिनाइ भएको गुनासो प्रहरीले गर्दै आएको छ ।
पोखरासहित कास्कीका सडक छेउ र राजमार्गमा पर्याप्त सिसिटिभी क्यामेरा नभएको अवस्थामा भएका क्यामरासमेत तोडफोड भएपछि अपराध अनुसन्धानमा प्रहरीलाई समस्या सिर्जना भएको छ ।
पोखरा महानगरपालिका लगायतका सम्बन्धित निकायमा गुनासो गरेको भए पनि सुरक्षा संवेदनशीलतामा चासो नदेखाएको प्रहरीको गुनासो छ ।





