सेवा पुनः सुचारु गर्ने तयारीमा कास्की मालपोत

सेवाग्राहीसँग माग्यो यस्ता कागजात

पोखरा । जेन–जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड तथा आगजनी हुँदा अभिलेख जलेर नष्ट भएका कारण बन्द रहेको मालपोत कार्यालय कास्कीले सेवा प्रवाह पुनः सुचारु गराउने तयारी गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै नयाँ सेवाग्राहीलाई सेवा दिनका लागि जग्गाधनी श्रेस्ता कायम गर्न आवश्यक पर्ने कागजात र प्रमाणहरू जुटाउनका लागि भनेको छ ।

कार्यालयबाट नयाँ सेवा लिन चाहने जग्गाधनीले स्वयं उपस्थित भएर भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार आवश्यक कागजात प्रमाणसहित निवेदन पेस गर्नुपर्ने मालपोत अधिकृत शोभाखर पोख्रेलले बताए ।

तोडफोड तथा आगजनीका कारण भौतिक संरचना सँगै अभिलेख समेत नष्ट भएका कारण सरकारले जारी गरेको भूमि प्रशासन निर्देशिका अन्तर्गत रहेर कागजातहरू माग गरिएको अधिकृत पोख्रेलको भनाई छ ।

‘मालपोत कार्यालय कास्की छिटो भन्दा छिटो रोकिएको सेवा सुचारु गर्ने तरखरमा रहेको छ । त्यसै अनुरूप सेवाग्राहीलाई माइन्ड मके-अप गर्न र तयारी गर्न सहज होस भनेर आवश्यक कागजात सहितको सूचना जारी गरेका छौ । दुई -तिन दिन भित्र कार्यालयमा सर-सामाग्रीहरू जोडेर साता भित्रै सेवा दिने गरी तयारी थालेका छौ,’ अधिकृत पोख्रेलले पोखरा न्यूजसँग भने ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०८१ फागुन ११ मा भएको निर्णय अनुसार जारी भएको निर्देशिकामा उल्लेख भएका कागजातहरू माग गरेर नै सेवा दिन लागिएको अधिकृत पोख्रेलले बताए ।

‘तत्कालीन समयमा निर्देशिकामा जुन -जुन कागजात आवश्यक रहने भनेर सुची बनाइएको थियो सोही सुची अनुसारका कत्ति पनि तलमाथि नहुने गरी हामीले कागजात मागेका छौ,’ अधिकृत पोख्रेलले भने, ‘तत्काल अति आवश्यक भएका सेवाग्राहीलाई भिडभाड नहुने गरी कागजात तयार पारेर आउन हामी अनुरोध गर्दछौ ।’

हाल कार्यालयमा मेसिन उपकरण तथा भौतिक सर सामाग्रीहरू समेत आवश्यक मात्रामा जोहो गर्न कठिनाइ रहेकाले बिस्तारै सेवा प्रवाहको गति बढाउँदै लगिने भन्दै उनले अति आवश्यक हुनेले मात्र कागजात जुटाएर आउन आग्रह गरे ।

‘विदेश जानका लागि प्रक्रियामा रहेकालाई जग्गा सम्बन्धी कार्य तत्काल गर्न आवश्यक भएमा, धितो बन्धक लिखत पारित गरी वा पत्र मार्फत घर जग्गा रोक्का गरिएको भए त्यस्ताको बन्धक र फुकुवा कार्यको लागि श्रेस्ता कायम गर्न आवश्यक हुने भएका सम्बन्धित व्यक्ति संस्था स्वयं उपस्थित भएर सेवा लिन हामी आग्रह गर्दछौ,’ पोख्रेलले थपे ।

अहिले विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा ध्वस्त भएका कार्यालयका संरचनाहरू पुनः निर्माण तथा सर सामग्रीहरू जोडने कार्य भएको भन्दै अधिकृत पोख्रेलले करिब एक साता भित्रमा सेवा दिने तयारीका साथ काम अघि बढेको बताए ।

सामाजिक संघ-संस्था, लेखापढी व्यवसायी संघ, रियल स्टेटसँग सम्बन्धित व्यक्ति तथा संस्थाबाट पुनः निर्माणमा सघाउने तथा सर सामग्रीहरू प्रदान गर्ने कार्य भएको अधिकृत पोख्रेलले बताए ।

सूचनामा उल्लिखित आवश्यक मुख्य कागजातहरू यस्ता  छन्:

१. जग्गा रहेको स्थानीय तहबाट भएको  भोग सम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गाधनीको तीन पुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस (स्थायी ठेगाना भएको स्थानीय तहको )।
२. स्थलगत सर्जमिन मुचुल्का पेश गर्ने।
३. नागरिकताको प्रतिलिपि।
४. जग्गाधनीसँग सम्बन्धित सक्कल पुर्जा।
५. जग्गाधनीसँगको पारित लिखत
६. जग्गा रोक्का अवस्थामा रोक्का राख्ने निकायको सहमति पत्र।
७. चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद।
८. प्लट रजिस्टर, फिल्डबुक र नक्सा।
९. आवश्यक परे ३५ दिने सार्वजनिक सूचना।
१०. गुठी जग्गा भएमा गुठी संस्थानको सहमति पत्र।
११. आवश्यकतानुसार अन्य प्रमाणहरू।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button