
पोखरा। हाल देशभर मनसुन सक्रिय रहेकाले कास्की जिल्ला प्रशासन कार्यालयले यात्रु, पर्यटक तथा सर्वसाधारणको सुरक्षाका लागि विशेष निर्देशन जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको अध्यक्षतामा बसेको बैठकले वर्षा, पहिरो र सडक अवरोधका कारण हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न विभिन्न निकायहरूलाई सहकार्यका साथ काम गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार, राजमार्ग तथा सडकमा सवारी आवागमन रोकिएका अवस्थामा एम्बुलेन्स, गर्भवती, बिरामी तथा अशक्त व्यक्तिहरूलाई यातायातको सहज व्यवस्था गर्न भनिएको छ। साथै, लामो दूरीका यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यातायात व्यवसायीहरूले टिकट बिक्री नगरी यात्रुहरूको सुरक्षित व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रशासनले यात्रुहरू फस्ने वा अवरोधमा पर्ने अवस्थालाई ध्यानमा राख्दै, गन्तव्य जिल्लासम्म पुग्न एम्बुलेन्स, मेडिकल सेवा वा साना सवारी साधनमार्फत आवश्यक सहजीकरण गर्न प्रहरी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
यस्तै, सवारी साधन सञ्चालनमा रोकका कारण पोखरामा अड्किएका यात्रुहरूको सहयोगका लागि होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायीहरूलाई खानाबस्ने सुविधा प्रदान गर्न आग्रह गरिएको छ। आसपासका जिल्लामा सवारी संचालनका क्रममा अन्तर-जिल्ला समन्वय गर्न पनि भनिएको छ।
त्यसैगरी, कुनै विपद्का घटना घटेमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, उद्धार तथा राहतका कार्यमा जिल्लास्तरका सबै स्थानीय तह र सम्बद्ध निकायलाई पूर्ण तयारी अवस्थामा रहन प्रशासनले भनेको छ ।