जस्तो परिस्थिति आओस् तर बालेनले मातृभूमीलाई धोका दिन सक्दैन: गनेश

पोखरा । जेन-जी आन्दोलनपछि देशभर नयाँ राजनीतिक चेतना र परिवर्तनको लहर चलेको छ। यो आन्दोलनले ‘सन्देश होइन, आदेश दिन्छ’ भन्दै सबै तह र तप्कामा आमूल सुधारको माग गरिरहेको बेला, पोखराका एक लेखकले सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक र बौद्धिक सिन्डिकेटमाथि कडा प्रहार गरेका छन्।

लेखक गनेश पौडेलको उक्त लेखमा भनिएको छ, “जुनसुकै जनआन्दोलनले सन्देश होइन, आदेश दिन्छ। जेन-जी आन्दोलनले दिएको मुख्य आदेश नै सबै खालको निरंकुशताको अन्त्य र सिन्डिकेटको बर्खास्ती हो।” लेखकका अनुसार यो आन्दोलनले सरकार, दल, राज्य संयन्त्र, सञ्चारमाध्यम, सुरक्षा निकायदेखि नागरिक र बौद्धिक समाज सबैलाई आत्मसमीक्षा र सच्चिनका लागि आदेश दिएको हो।

तर उनका अनुसार, दुई पक्ष अझै अडिग छन् — एमाले र केही राजनीतिक विश्लेषक। उनले लेखेका छन्, “एमाले बदलिएर आउने कुनै संकेत छैन। ओलीको निरंकुशतामा एमालेका कार्यकर्ता डराइरहेका छन्।” त्यस्तै, केही राजनीतिक विश्लेषकहरूलाई ‘ज्ञानका निरंकुश’ भन्दै उनीहरू दशकौँदेखि एउटै पक्षपाती दृष्टिकोणमा अडिएको आरोप लगाइएको छ।

लेखमा भनिएको छ, अहिलेका केही बुद्धिजीवीहरूले वैचारिक सिन्डिकेट बनाएर आन्दोलन र मेयर बालेन शाहलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन्। ती सिन्डिकेट दुई उद्देश्यमा केन्द्रित छन् — जेन-जी आन्दोलनलाई बदनाम गर्नु र बालेनलाई वैदेशिक शक्तिबाट परिचालित भनेर देखाउने प्रयास गर्नु। लेखकले यसलाई “गोयबल्सको तरिका”सँग तुलना गर्दै भनेका छन्, “झूटलाई यति पटक दोहोर्याऊ कि मानिसहरू त्यसलाई सत्य ठान्न बाध्य बनून्।”

बालेन शाहको बचाउ गर्दै गनेशले लेखेका छन्, “बालेन मेरो असल साथी हुन्। म उनलाई स्वभाव, विचार, चरित्र र कार्यशैलीले चिनेको छु। ऊ असल छोरा, असल पति, असल पिता र असल नेपाली हो।” उनले थपेका छन्, “म संसारका जस्तै कठोर झूटलाई पत्याउन सकूँला, तर बालेनले मातृभूमीलाई धोका दिन्छ भनेर कहिल्यै विश्वास गर्न सक्दिनँ।”

लेखकले बालेनलाई सर्वगुण सम्पन्न नभए पनि असल देशभक्तको रूपमा चित्रण गरेका छन्। “गल्ती र अपराध फरक कुरा हुन्। गल्तीलाई अपराध ठहर्‍याउने बौद्धिक विवेचनाबाट समाजलाई जोगाउन यो लेखिएको हो,” उनी लेख्छन्।

उनले बालेनलाई स्वभाव, चरित्र र देशभक्तिको मापदण्डबाट नजिकबाट चिनेको भन्दै, वैचारिक सिन्डिकेट र गलत प्रचारविरुद्ध सक्त विरोध जनाएका छन् ।  अपराध र गल्तीको भेद गर्दै, व्यक्तिको आलोचना र बदनामीबीचको सीमालाई बचाउन आवश्यक रहेको उनको भनाइ छ।

अन्त्यमा लेखकले भावनात्मक शैलीमा लेखेका छन्, “आकाश खसोस्, ताराहरू जमिनमा झरून्, जस्तो परिस्थिति आओस् तर बालेनले मातृभूमीलाई धोका दिन सक्दैन। दिन्नँ।”

अटेरी अभियानका संयोजक रहेका पौडेलले पोखरा महानगरको मेयर पदमा लौरो चिन्ह लिएर उठेका थिए । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button