राप्रपा एकीकरण प्रकरणःअन्तरिम विधान अन्योलमा

काठमाडौँ, २३ साउन –

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने तयारी भए पनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

यही साउन २५ गते दुवै पार्टीको एकीकरणको घोषणा गर्ने तयारी छ । एकीकरणपछि दुवै पार्टीका शीर्ष नेता, पदाधिकारी तथा दुवै पार्टी निकट जनवर्गीय सङ्गठनका साथै कार्यकर्तालाई व्यवस्थापन गर्न नयाँ विधानको आवश्यकता छ ।

त्यसैगरी दुवै पार्टीबीच भएको दार्शनिक भिन्नतालाई सन्तुलनमा ल्याउनका लागि दुवै पार्टीका विधानका केही धारा तथा नियमलाई निलम्बन गर्नुपर्ने छ । राप्रपाले गणतन्त्र र सङ्घीयतालाई स्वीकारेको छ भने राप्रपा नेपालले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रलाई मूलाधारका रुपमा स्विकारेको छ ।

दुवै पार्टी मुलुकलाई हिन्दू राष्ट्र कायम गर्न सहमत भइसकेका छन् । दुवै पार्टीका शीर्षस्थ नेतृत्व नैतिक धरातलमा रही एकीकरणलाई अगाडि बढाउने र अन्य विवादित विषय महाधिवेशनबाट टुङ्गो लगाउने विषयमा सहमत देखिन्छन् ।

एकता प्रक्रिया पूरा हुन गाउँ, नगर र क्षेत्र हुँदै करिब चारदेखि छ महिनाको समयावधि लाग्ने जनाइएको छ । राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको अहिलेको अवस्थामा देशमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न खाँचो रहेको बताउनुभयो । उहाँले दुवै पार्टीलाई एकतापछि महाधिवेशनसम्म निर्देशन गर्न अन्तरिम विधान निर्माण भइरहे पनि प्राविधिक कारणले सम्पन्न हुन नसकेको जानकारी गराउनुभयो ।

एकताका लागि अहिलेसम्म विभिन्न चरणमा भएका अनौपचारिक बैठकले एकार्काको अस्तित्वलाई सम्मान गरेका कारण एकीकरणको प्रक्रिया अगाडि बढ्दै गएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । पार्टी एकतासम्बन्धी बैठकमा मेलमिलापको प्रक्रियालाई छिट्टै टुङ्गोमा लैजान सकेमा देश तथा जनताका पक्षमा धेरै कार्य गर्न सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । गिरीले विधान निर्माणका धेरै काम पूरा भइसकेको बताउँदै अब छिट्टै विधान तयार हुने बताउनुभयो ।

एकीकरणका लागि राप्रपाबाट बुद्धिमान तामाङ तथा राप्रपा नेपालका तर्फबाट राजीव पराजुली संयोजकका रुपमा रही आवश्यक जिम्मेवारी पूरा गर्नुभएको थियो । एकीकरणपछि पार्टीमा राष्ट्रिय अध्यक्ष तथा कार्यकारी अध्यक्ष राख्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रिय अध्यक्षमा राप्रपाकाम पशुपतिशम्शेर तथा कार्यकारी अध्यक्षमा कमल थापा रहने बताइएको छ ।

राष्ट्रिय अध्यक्षले पार्टीलाई मार्गनिर्देशन तथा महत्वपूर्ण बैठकको अध्यक्षता गर्नुपर्ने कुरा प्रस्तावित छ । कार्यकारी अध्यक्षले भने संसदीय दलको नेताको समेत जिम्मेवारी सम्हाल्ने व्यवस्था गर्न लागिएको राप्रपा नेपालका युवा नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

राप्रपाबाट अलगिएर राप्रपा नेपालले विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक कार्य गर्दै आएको छ । व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो जसका २५ सांसद रहेका छन् । राप्रपा भने सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन् ।

दुवै पार्टीको एकीकरण घोषणा सभापछि १५ दिनभित्र दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने निर्णय लिने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button