पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

पोखरा । आठौँ पोखरा स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार अवार्ड समारोह शुक्रबार दिउँसो ठीक २ः४५ बजेदेखि पोखरा सभागृहमा सुरु हुनेछ ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर सात विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दीननाथ बरालले बताए ।

यीमध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भइसकेको छ ।

जसअनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी  छन् ।

वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर छन् ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने अध्यक्ष बरालले बताए ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की छन् ।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकालाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै, यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गर्ने घोषणा भइसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ ।

वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेता राेहितराज पराजुलीले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन्।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरीयता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरिने महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने महासचिव पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button