भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम पोखरामा सुरु

  • पोखरा न्यूज
  • २०८१ बैशाख २८
भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम पोखरामा सुरु

पोखरा । राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा पहिलो पटक आयोजित भजन तथा प्रतियोगिता मूल्यांकनसम्बन्धी तालिम पोखरामा सुरु भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले मुलुकमा परिवर्तन ल्याउन श्रष्टाले ठूलो योगदान गरेको भए पनि राज्यले सधैँ उपेक्षा गर्ने गरेको गुनासो गरे ।

भाषा, कला, साहित्य र संस्कृति संरक्षणमा प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको कुलपति विखर्चीले स्पष्ट पारे ।

राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकाली खनालले भावी पुस्तालाई हस्तान्तरण गर्ने गरी विद्यालय तहमै भजन सिकाउनुपर्नेमा जोड दिए । उनले विगतमा भन्दा वर्तमानमा भजनको स्तर निकै माथि पुगेको दावीसमेत गरे ।

कार्यक्रममा समिति अध्यक्ष वसन्त बास्तोला, लोक सम्राट प्राज्ञ प्रजापति पराजुली, वरिष्ठ लोक तथा भजन गायक पुरुषोत्तम न्यौपाने, समिति महासचिव लेखनाथ तिवारी लगायतले बोलेका थिए ।

शनिबारसम्म चल्ने तालिममा ३३ जिल्लाका प्रतिनिधि, गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधि, केन्द्रीय समितिका पदाधिकारी, भारतका केही व्यक्तित्वसहित ८५ जना सहभागी छन् ।

तालिमअन्तर्गत पहिलो दिन केन्द्रीय अध्यक्ष खनालले प्रतिष्ठान स्थापनाका उद्देश्य, मूल्य र मान्यता, संस्कृतिविद् डा. तुलसी प्रभास खनालले भजन संस्कृति हिजो र आज, वरिष्ठ लोक तथा भजन गायक न्यौपानेले भजन प्रतियोगिता सञ्चालन कार्यविधि र प्रक्रिया, लोक सम्राट प्राज्ञ प्रजापति पराजुलीले भजन प्रतियोगिता मूल्यांकनका आधार र मापदण्डका विषयमा प्रशिक्षण दिए ।

यस्तै, दोस्रो दिन शनिबार अधिवक्ता दुर्गाप्रसाद कोइरालाले भजन मूल्यांकनमा कानुनी मान्यता, संस्कृतिविद् डा. खनालले संस्थागत नेतृत्व विकास, लोक सम्राट प्राज्ञ पराजुलीले भजन प्रतियोगितामा विवाद निरुपण, केन्द्रीय अध्यक्ष खनालले अभिव्यक्ति कला एवं माइन्यूट लेखन शैली र पद्धतिकाबारेमा प्रशिक्षण दिनेछन् ।

साथै शनिबार नै समितिको साधारणसभासहित तालिम समापन हुने अध्यक्ष बास्तोलाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस