पत्रकार पौडेलको पहिलो कृति ‘लकडाउन–१२०’ पोखरामा विमोचन

पोखरा न्यूज सम्वाददाता । पत्रकार राजाराम पौडेलको पहिलो कृति ‘लकडाउन–१२०’ गीतिसंग्रह शनिबार पोखरामा विमोचन भएको छ । पोखरा थिएटरद्धारा आयोजित कार्यक्रममा पोखरा न्युज डट कमका वरिष्ठ सम्वाददाता पौडेलको कृतिको विमोचन गरिएको हो । पुस्तकमा लकडाउनको समयमा सिर्जना गरिएका गीति शैलीका रचनाहरु समेटिएका छन् ।

गीतिसंग्रहको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

विमोचन कार्यक्रमकी प्रमूख अतिथि प्राज्ञ कोइरालाले पत्रकारका रुपमा परिचित कृतिकार अब गीतकारका रुपमा नेपाली समाजमा सकारात्मक सन्देश फैलाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, “राजारामको लकडाउन एउटा सुन्दर सिर्जनामा परिणत भयो । मानवीय भोगाइ र संवेदनाहरु अक्षर—अक्षरमा गीत, गजल र कविता बनेर पोखिए ।”

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बिजीले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेकोमा कृतिकार पौडेललाई बधाइ दिनुभयो । गीतकार समेत रहनुभएका बिजीले सार्वजनिक भएको संग्रहलाई सफल पार्न प्रतिष्ठानले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ एउटा पत्रकारले गीतिसंग्रह सार्वजनिक गरेको देख्दा आफू हर्षित भएको बताउनुभयो ।  पोखरामा रंगपत्रकारितामा सबै भन्दा धेरै कलम चलाउने पत्रकारका रुपमा स्थापित भएको भन्दै पौडेलको समय व्यवस्थापन र मेहनत गर्ने खुबीको श्रेष्ठले प्रशंसा समेत गर्नुभएको थियो ।

प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले पत्रकारलाई आजदेखि गीतकारका रुपमा पनि परिचित गराउँन पाउँदा खुशी लागेको बताउनु भयो । पौडेलका गीतहरु गाउने चाहना आफूभित्र रहेको उहाँको भनाइ थियो ।

पत्रकार पौडेलले लकडाउनको समयमा पाएको फुर्सदको समयलाई सदुपयोग गरेर सिर्जनालाई मूर्तरुप दिएको बताउनु भयो । आगामी दिनमा थप परिष्कृत हुँदै सिर्जनमा लागिरहने प्रण उहाँले त्यस अवसरमा व्यक्त गर्नुभयो ।

कृतिको समीक्षा गर्दै साहित्यकार जीवनसागर भण्डारीले लोक गीति शैलीलाई अवलम्बन गरेर लकडाउन र यसले नेपाली जनजीवनमा पारेको प्रभावलाई कृतिकारले समेट्ने प्रयास गरेको बताउनु भयो । थियटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी रुपिन्द्र प्रभावीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार रेशम गिरीले स्रष्टा परिचय प्रस्तुत गर्नुभएको थियो ।

बालगायक उत्प्रेम जोजिजूले कृतिमा समावेश गरिएको ‘हामी बाबुनानी’ बोलको गीत गाउनुभएको थियो भने पत्रकार आरजु विष्ट ‘सल्यानी’, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । डेढ दशकदेखि पत्रकारितामा संलग्न पौडेल हाल पोखरा न्युज डटकम र रेडियो अन्नपूर्णमा आबद्ध हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button