आज विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

पोखरा । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ ।

कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्नेमा जोड दिइँदै आइरहेको छ । नेपालमा यससम्बन्धी कानुनसँगै नीतिसमेत बनेको छ । सुरक्षित र स्वस्थ्य कार्यक्षेत्रको वातावरण बनाउन समग्र प्रणालीको विकास हुनुपर्ने र सोहीअनुसार विभिन्न सरोकारवाला निकायका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिँदै आएको छ ।

आइएलओसँगको सहकार्यमा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम बनाइरहेको सरोकारवालाले जनाएका छन् । नेपालमा सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’को स्थापना गरेको थियो । यस आयोजनालाई नेपाल सरकारको २०७५ सालको निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी सङ्गठन संरचना स्वीकृत भएको थियो ।

श्रमिकले अझै पनि कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको गुनासो रहँदै आएको छ । कार्यस्थल जति स्वच्छ, राम्रो र सुरक्षित हुन्छ त्यसले उत्पादकत्व क्षमता पनि बढाउँछ । तर रोजगारदाताले कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्यमा लगानी गर्नु भनेको खर्च र घाटामात्र ठान्ने गरेको मजदुरहरुको गुनासो छ ।

कार्यस्थल वरपरका समुदाय तथा वातावरणमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै कार्यस्थलभित्र वा कार्यस्थलबाट कामदारको स्वास्थ्य तथा कल्याणमा उत्पन्न हुने सक्ने जोखिमको पूर्वाअनुमान, पहिचान, मूल्याङकन तथा जोखिम नियन्त्रण गर्ने विज्ञानलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो ।

सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ । श्रम ऐन, २०७४ मा रोजगारदाताले कार्यस्थलमा श्रमिकको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने, सुरक्षा तथा स्वास्थ्य समिति बनाउनुपर्ने व्यवस्था छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ मा रोजगारदाताले कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।

श्रमिकलाई तालिमसँगै सुरक्षा साधन उपलब्ध गराउनु रोजगारदाताको कर्तव्य हो। उक्त नीतिले श्रमिकलाई सङ्क्रामक रोग नियन्त्रण र व्यवसायजन्य रोगको उपचारसम्बन्धी व्यवस्था गरेको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को तथ्याङ्कानुसार हरेक वर्ष ३७ करोड ४० लाख श्रमिक कामसम्बन्धी दुर्घटनामा पर्छन् । विश्वमा हरेक वर्ष १६ करोड श्रमिक व्यवसायजन्य रोगबाट प्रभावित छन् ।

यस्तै, २७ लाख ८० हजार श्रमिकको कामसम्बन्धी दुर्घटना र व्यवसायजन्य रोगका कारण मृत्यु हुने गरेको छ । विश्वमा प्रत्येक दिन सात हजार छ सयभन्दा बढी श्रमिकको कामसम्बन्धी दुर्घटनाका कारण मृत्यु हुने गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button