तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको छ । आँबुखैरेनी गाउँपालिका-२ मा रहेको उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।
सो ठाउँ पर्यटकीय स्थलका रूपमा विकास भएपछि थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटी र लियो क्लब अफ आँबुखैरेनीले बिहीबार ऐनापहरामा निर्माणाधीन उद्यानमा विभिन्न प्रजातिका फूल रोपिएको हो ।
लियो क्लब अफ आँबुखैरेनी सिटीका उपाध्यक्ष निरज श्रेष्ठले गाउँपालिकाले यस ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेको र उक्त अभियानमा आफूहरूले साथ दिएको बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए ।
गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको संख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।
यस्तै, ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको पनि उनले बताए ।
झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताए । उनका अनुसार यहाँ उद्यान निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जंगल । खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जोकसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरू आनन्दित भएर फर्किन्छन् ।
पृथ्वी राजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ ।
राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ ।
काठमाडौं, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution