‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

 पोखरा । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइयो । पोखरामा हुने अडिसन पोखरा बहुमुखि क्याम्पसमा हुने आयोजकले जानकारी दिएको छ ।

विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अडिसनका बारेमा जानकारी दिन आयोजित पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले अमेरिकाबाट भर्चुवल माध्यमबाट सम्वोधन गर्दै नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । ‘हाम्रो कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ –उनले भने ।

कार्यक्रममा बोल्दै फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको जानकारी दिए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे ।

सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org) बाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस जनालाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।

साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छभने दोस्रो हुनेलाई २५ लाख रुपैया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रमको अध्यक्षता गरेका फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले स्वागत मन्तव्य राखेका थिएभने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, कलाकार तथा समाजसेवी लक्ष्मण श्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुंग निर्णायक (जज) को भूमिकामा छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत् शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् । त्यस्तै दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button