सिजन सुरु भएसँगै पोखरामा हट एयर बेलुनमा पर्यटकको चाप

पोखरा । पोखरामा साहसिक पर्यटकीय गतिबिधि हट एयर बेलुनमा पर्यटकहरूको चाप बढ्न थालेको छ । हरेक वर्ष बर्षादको समयमा स्थगन गरिने हट एयर बेलुनको व्यावसायिक उडान यस वर्ष असोज ९ गतेबाट पुनः सुचारु भएको हो । सिजन सुरु भएसँगै हट एयर बेलुनमा पर्यटकहरूको चाप बढ्न थालेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।

यस वर्ष पोखरा भित्रिने पर्यटकहरू मध्ये अधिकांशले बेलुन उडानमा चासो देखाएको अध्यक्ष बाडेको भनाई छ । ‘हामीले अघिल्लो वर्ष बेलुन फेस्टिभल गर्‍यौ, उक्त फेस्टिभलमा भएको पर्यटकको उत्साहजनक सहभागिता र प्रचारप्रसारका कारण पनि हुनसक्छ अहिले बेलुनमा उड्नको लागि अत्याधिक फोन आउन थालेको छ,’ अध्यक्ष बाडेले भने  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy
अध्यक्ष : विक्रम बाडे

गत वर्ष बेलुन फेस्टिभलमा पोखरा आएर पनि टिकट नपाएका कारण उडन नपाएका पर्यटकहरूले पनि अहिले प्री बुकिङ गर्न थालेको उनको भनाई छ ।

आकर्षक हिमशृङ्खलाहरू,उचाइबाट पोखराको दृश्य हेर्न तथा नयाँ अनुभव लिन विदेशी तथा आन्तरिक दुवै प्रकारका पर्यटकहरू हट एयर बेलुन उडानतर्फ आकर्षित भएको बाडेले बताए ।

हट एयर बेलुनको उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म दैनिक दुई सत्रमा सञ्चालन हुँदै आएको छ । पामेबाट सुरु हुने उडान करिब ४ किलोमिटर परसम्म पुग्छ, जसको अवधि  ३० देखि ४० मिनेटको रहन्छ ।

उडानका क्रममा करिब ९ हजार फिटको उचाइबाट माछापुच्छ्रे, अन्नपूर्ण तथा आसपासका हिमशृङ्खलाको आकर्षक दृश्य नजिकैबाट देख्न सकिन्छ । साथै फेवाताल, पोखराको सहर क्षेत्र, पुम्दीकोट महादेव मूर्ति, विश्व शान्ति स्तुपा, सराङकोट, हरियाली जङ्गललगायत ठाउँहरूको ३६०-डिग्री दृश्यावलोकन गर्न पाइन्छ ।

बेलुन नेपालका अनुसार शुल्क नेपाली नागरिकका लागि ११ हजार, सार्क देशका तथा चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर, र अन्य विदेशी पर्यटकका लागि १५० अमेरिकी डलर तोकिएको छ । सो शुल्कमा लेकसाइडबाट पिक अप र ड्रप सेवा पनि समावेश छ।

यस अघि पोखरामा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सवले पोखरासँगै नेपाललाई विश्व पर्यटन क्षेत्रमा नयाँ पहिचान दिलाएको थियो। संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व रहेको महोत्सवको कभरेज अन्तर्राष्ट्रिय स्तरमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button