
पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना जेठ ९ गतेभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाए आफैँ डोजर लगाएर हटाउने तथा त्यसको लागतसमेत सम्बन्धित पक्षबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी महानगरले दिएको हो।
महानगरपालिकाले बुधबार सार्वजनिक सूचना मार्फत वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका सबै संरचना हटाउन भनेको छ।
यसअघि प्राविधिक टोलीबाट स्थलगत नापजाँच गरी पोल गाडेर खोलाघर क्षेत्र निर्धारण गर्दै महानगरले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गरी खोलाघरभित्रका संरचना हटाउन आग्रह गरेको थियो। उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण तथा परमादेश जारी गर्न नपर्ने आदेश दिएको थियो ।
अदालतको आदेश तथा २०८३ वैशाख ४ गते जारी सूचनाको आधारमा महानगरले पुनः अन्तिम सूचना जारी गरेको हो। महानगरले तोकिएको मितिभित्र स्वयं संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। तोकिएको अन्तिम मितिभित्र संरचना नहटाएमा आफैं डोजर चलाउने चेतावनी महानगरले दिएको छ ।
फिर्केखोलाको खोलाघर भित्र १ सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएका छन् ।





