पोखरा विमानस्थल प्रकरण: ४६ करोड बढी बिगो दाबीसहित दोस्रो मुद्दा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार आरोपमा विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी सहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएको जनाएको छ। यसअघि दायर गरिएको मुद्दामा पनि विमानस्थल निर्माणसँग सम्बन्धित आर्थिक तथा प्रक्रियागत विषयमा अनुसन्धान जारी रहेको उल्लेख गरिएको थियो।

अख्तियारको अनुसन्धानअनुसार विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’सँग सम्झौता गर्दा नै परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर (कर बाहेक) बजेट छुट्याइएको थियो। तर, उक्त रकम प्रयोग नगरी बदनियतपूर्वक नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै बजेट शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराइएको दाबी गरिएको छ। यसबाट ठेक्का सम्झौताभित्रकै स्रोत प्रयोग नगरी दोहोरो बजेट भार सिर्जना गरी सार्वजनिक संस्थालाई आर्थिक नोक्सानी पुर्‍याइएको आयोगको ठहर छ।

त्यसैगरी, परामर्श सेवा सम्झौता करिब ४२ करोड ८९ लाख रुपैयाँमा गरिएको र हालसम्म करिब ४० करोड ६८ लाख रुपैयाँ भुक्तानी भइसकेको उल्लेख छ। आयोगले यी भुक्तानी प्रक्रिया नियमविपरीत भएको र राज्यलाई हानि पुगेको दाबी गरेको छ।

अख्तियारले चिनियाँ ठेकेदार कम्पनी China CAMC Engineering ले गर्नुपर्ने कामहरूमा समेत लागत बढाउन मूल्य तालिकामा हेरफेर गरिएको आरोप लगाएको छ। अनुसन्धानबाट इन्जिनियरिङ डिजाइनमा परिमाण घटेका सामग्रीको मूल्य नघटाई राखिएको र थप गरिएका सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढाएर भुक्तानी लिइएको खुल्न आएको जनाइएको छ।

आयोगले उक्त प्रकरणमा कुल ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। साथै, लागत अनुमानभन्दा बढी रकम समावेश गरी सम्झौता गरिएको तथा अतिरिक्त भुक्तानी भएको भन्दै असुल उपर गर्नुपर्ने माग पनि गरिएको छ।

pokhara akhtiyar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button