स्याङ्जामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

५५० कुखुरा मरे

स्याङ्जा । स्याङ्जामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको बिरुवा गाउँपालिका–२ श्रीडाँडा निवासी २० वर्षीय मिलन विकको चट्याङ लागेर मृत्यु भएको हो।

शुक्रबार बेलुका करिव ७ बजेको समयमा घरमै बसिरहेको अवस्थामा परेको चट्याङले गम्भीर घाइते भएका उनलाई तत्काल प्रदेश अस्पताल, पुतलीबजार लगिएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी, प्रसन्नराज चौधरीका अनुसार उपचारकै क्रममा राति १:२० बजे चिकित्सकले मिलनलाई मृत घोषणा गरेका हुन्।

यसैगरी चट्याङ लाग्दा शुक्रबार ४ :४० बजे स्याङ्जाको हरिनास गाउँपालिका–४ सार्थर निवासी ५८ वर्षीय खीमबहादुर थापा घाइते भएका छन्। उनलाई चट्याङको झट्का लागेपछि उपचारका लागि सेतीगंगा अस्पताल तनहुँ लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको डीएसपी चौधरीले जानकारी दिए।

उक्त घटनामा तेजबहादुर थापाको कुखुरा फार्मका करिब पाँच सय ५० वटा कुखुरा मरेका छन् भने फार्ममा समेत ठूलो क्षति पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button