पोखरामा रातभर प्रहरी ‘स्वीप अपरेसन’ : १० घण्टामा १२२ जना पक्राउ

पोखरा । कास्की प्रहरीले जिल्लाभर सञ्चालन गरेको व्यापक ‘स्वीप अपरेसन’ अन्तर्गत एक सय २२ जना व्यक्तिलाई पक्राउ गरेको छ।

गएराती करिब ९ बजेदेखि  बिहान ६ बजेसम्म १० घण्टा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका  निमित्त सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट १०० जना प्रहरी परिचालन गरी उक्त अपरेसन सञ्चालन गरिएको हो।

लागू औषध बिक्री–वितरण तथा सेवन, टोले गुण्डागर्दी, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा शंकास्पद रूपमा हिडडुल गर्ने व्यक्तिहरूलाई लक्षित गरी कारबाही गरिएको इन्स्पेक्टर पाण्डेले बताए।

अपरेसनका क्रममा पोखरा–६ लेकसाइडबाट सबैभन्दा बढी ३५ जना नियन्त्रणमा लिइएका छन्। त्यसपछि पोखरा–९ र १० (पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक) क्षेत्रबाट २० जना तथा पोखरा–१४ र १५ (एयरपोर्ट, फुलवारी, खसिबजार, रामबजार) क्षेत्रबाट १५ जना पक्राउ परेका छन्।

त्यसैगरी पोखरा–२९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख) क्षेत्रबाट १२ जना, पोखरा–१ देखि ५ (कसेरी, बाग्लुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा, प्रस्याङ) क्षेत्रबाट ९ जना तथा पोखरा–११, १२ र १३ (तुल्सिघाट, शितलादेवी, काँहुडाँडा, काँहुखोला) क्षेत्रबाट ८ जना नियन्त्रणमा लिइएका छन्।

यसैगरी पोखरा–८ (बगाले टोल, सभागृह चोक, शिवालय चोक) तथा पोखरा–२७ र २८ (दिपाङताल, रिठेपानी) क्षेत्रबाट समान ६/६ जना, पोखरा–३२ (राजाचौतारा, लामेआहाल डम्पिङ साइट) क्षेत्रबाट ३ जना तथा माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट पनि ३ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी पोखरा–१६ (बाटुलेचौर, लामाचौर) र पोखरा–१८ (चिसापानी, मेथलाङ) क्षेत्रबाट २/२ जना तथा अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। इन्स्पेक्टर पाण्डेले यस्ता अपरेसन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button