६ करोड १२ लाख लागतको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा आउने

पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन ‘पोखरा घर’ अन्तिम चरणमा पुगेको छ। पुस्तकालय, आर्ट ग्यालरी र कोशेली युनिटसहितको यस बहुउद्देश्यीय संरचनालाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार भवन निर्माण सकिन लागेसँगै सञ्चालनसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। परम्परागत र आधुनिक वास्तुकलाको संयोजनमा तयार गरिएको ‘पोखरा घर’ पोखराको पहिचान र गौरव बन्ने अपेक्षा गरिएको उनले बताए।

महानगरको भवन तथा पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर लक्ष्मी प्रसाद गौतमले निर्माण कार्य प्रायः सकिएकाले २०८३ जेठको १ गतेबाट संचालनमा आउने जानकारी दिए। उनका अनुसार अब विद्युत जडान र घण्टाघर स्थापना बाँकी रहेको छ, जसपछि भवन पूर्ण रूपमा सम्पन्न हुनेछ।

२०७९ साल फागुन २७ गते शिलान्यास गरिएको उक्त भवनको २०८० साल चैत्र ९ गते निर्माण सम्झौता भएको थियो । कुल ६ करोड १२ लाख ९४५ रुपैयाँ लागतको भवन करिब दुई वर्षको अवधिमा निर्माण सम्पन्नको चरणमा पुगेको हो। अण्डरग्राउण्डसहित पाँच तले भवनमा पार्किङको सुविधा समेत व्यवस्था गरिएको छ।

भवनको पहिलो तलामा कोशेली घर र सूचना केन्द्र रहनेछन् भने यात्रुहरूलाई लक्षित गरी एकैपटक २५ जनाले प्रयोग गर्न सक्ने सार्वजनिक स्नानघर तथा शौचालय निर्माण गरिएको छ। यो सुविधा विशेषगरी नजिकैको बसपार्क प्रयोग गर्ने यात्रुहरूलाई ध्यानमा राखेर बनाइएको हो।

दोस्रो तलामा पुस्तकालय र बैठक कक्ष रहनेछन् भने तेस्रो तलामा आर्ट ग्यालरीसहित बैठक हलको व्यवस्था गरिएको छ। दुइ सय ८५ वर्गमिटरमा पुस्तकालय र उतिकै साइजमा आर्ट ग्यालरीको लागि स्पेस बनाइएको छ । माथिल्लो भागमा रहेको आकर्षक घण्टाघरले समयको जानकारी दिनेछ ।

पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । जसलाई यस भवनमा थप सुबिधासहित संचालन गर्ने तयारी महानगरले गरिरहेको छ ।

पुरानो सांस्कृतिक झल्को दिने बार्दली शैली र आधुनिक संरचनात्मक प्रविधि दुवैलाई समेटिएको ‘पोखरा घर’ लाई समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बनाउने उधेश्य महानगरले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button