
पोखरा । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।
घटनास्थलबाट प्रहरीले चार जना महिलाको उद्दार गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार चैत्र १ गते दिउँसो करिब ४:३० बजे पोखरा – ८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर होटलमा काम लगाइने र केही समयपछि होटलमा आउने पुरुषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको फेला पारेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारत घर भई हाल पोखरा -१४ चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा –१ बगर बस्ने २८ वर्षीय खेमु थापालाई पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।





