
पोखरा । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापन तथा हटाउने तयारीस्वरूप त्यहाँ बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग तीन दिनभित्र विवरण पेस गर्न आग्रह गरेको छ। महानगरले आवश्यक कागजातसहित परिवारको विवरण वडा नं ९ को कार्यालयमा बुझाउन जरुरी सूचना जारी गरेको हो।
महानगरले बुधबार जारी गरेको सूचनामा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा बसपार्कस्थित जग्गामा बसोबास गर्दै आएका र यसअघि महानगरबाट निस्सा प्राप्त गरेका व्यक्तिले २०८३ जेठ ८ गतेभित्र विवरण बुझाउनुपर्ने उल्लेख छ।
सूचनाअनुसार बसोबासीले महानगरबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यको नागरिकता वा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै परिवारका सदस्यबीचको नाता प्रमाणित हुने कागजात वा घरमूलीको स्वःघोषणा पत्रसमेत अनिवार्य गरिएको छ। महानगरले निवेदनको ढाँचा समेत संलग्न गरी सूचना सार्वजनिक गरेको हो।
महानगरपालिकाले गत वैशाख ४ गते बसपार्क अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। सो सूचनाअनुसार दिइएको समयसीमा समेत तीन दिनमा समाप्त हुँदैछ।
पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा आधुनिक बसपार्क निर्माण गर्ने उद्देश्यले ५० वर्ष अघि २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर लामो समयसम्म बसपार्क निर्माणको काम अघि नबढ्दा त्यहाँ क्रमशः सुकुम्बासी तथा अव्यवस्थित बस्ती विस्तार हुँदै गएको छ। अहिले उक्त क्षेत्रमा चार सयभन्दा बढी घरटहरा निर्माण भइसकेका छन् भने सुरुआती २०५ रोपनी क्षेत्रफल घटेर करिब २६ रोपनीमा सीमित भएको छ ।





