पोखराको अमरसिंहचोकमा एकैदिन १२० सवारी चालक कारबाहीमा

पोखरा । पोखराको अमरसिंहचोकस्थित पृथ्वी राजमार्ग सडकखण्डमा गलत साइडबाट सवारी चलाउने १२० जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक कार्यालय कास्कीले आज आकस्मिक (सर्प्राइज) चेकिङ सञ्चालन गरी सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले निगरानी बढाएको थियो। सो क्रममा लेन अनुशासन उल्लंघन गर्दै गलत साइडबाट सवारी चलाएका १२० जना चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले गलत साइडबाट सवारी सञ्चालन गर्नु दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले यस्ता गतिविधिविरुद्ध नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

ट्राफिक प्रहरीले मंगलबार पनि पोखरामा गलत साइडबाट सवारी चलाउने ५६  चालकलाई कारवाही गरेको थियो ।

सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरीले “लेन अनुशासनको पालना गरौँ, दुर्घटनाबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ” भन्ने सन्देशसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button