
पोखरा । जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको वडा प्रहरी कार्यालय गगनगौडा, कास्कीको भवन स्थानीयवासीले पुनःनिर्माण तथा मर्मत गरी बुधबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको उक्त प्रहरी भवन स्थानीयको सक्रियतामा पुनःनिर्माण सम्पन्न भएपछि आज आयोजित एक कार्यक्रमबीच प्रहरीलाई हस्तान्तरण गरिएको हो।
पोखरा महानगरपालिका वडा नं. २८, २९ र ३० को पहलमा गठन गरिएको पुनःनिर्माण समितिले भवन पुनःनिर्माण तथा मर्मतको जिम्मेवारी लिएको थियो। समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा करिब ५ लाख रुपैयाँ बराबरको भौतिक निर्माण कार्य सम्पन्न गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवीन कार्कीले नागरिक र प्रहरीबीचको सहकार्यबाट मात्रै समाजमा दिगो शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिने बताए। उनले नेपाल प्रहरीको समस्या र आवश्यकतालाई आफ्नै जिम्मेवारी ठानेर प्रहरी भवन पुनःनिर्माण गरी हस्तान्तरण गरेकोमा स्थानीयवासी तथा निर्माण समितिप्रति आभार व्यक्त गरे।
उनले प्रहरी–समुदाय सहकार्यको यो उदाहरणले नागरिक र सुरक्षानिकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरे।
हस्तान्तरण कार्यक्रममा कास्की प्रहरी प्रमुख कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजित देवकोटा, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लेखनाथ कास्कीका अध्यक्ष, सामुदायिक सेवा केन्द्र कालीकाका प्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





