
पोखरा। पोखराको हेम्जास्थित भूपि शेरचन राजमार्गमा तीब्र गतिमा सवारी चलाउने थप ७२ जना सवारी चालक कारवाहीमा परेका छन्। प्रहरीले सक्रियताका साथ लगातार सञ्चालन गरिएको विशेष ट्राफिक निगरानी अभियानमा उनीहरूलाई कारवाही गरिएको हो।
तीव्र गतिका कारण हुने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखरा महानगरपालिका–२५ हेम्जामा विशेष ट्राफिक जाँच सञ्चालन गरेको थियो।
सो क्रममा ६० को गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने ७२ जना चालकलाई प्रचलित कानुनबमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ। यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने थप ५ जना सवारी चालकलाई पनि कारवाही गरिएको छ।
यसअघि शनिबार सोही स्थानमा गरिएको विशेष ट्राफिक जाँचका क्रममा तोकिएको गति सीमाभन्दा बढी गतिमा सवारी चलाउने ६२ जना चालक कारवाहीमा परेका थिए भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ८ जनालाई पनि नियमानुसार कारवाही गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी चालकलाई निर्धारित गति सीमा पालना गर्न, ट्राफिक नियमको पूर्ण रूपमा अनुपालन गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष गति निगरानी अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।





