
पोखरा । पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने ६ वटा भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई कारबाही गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले भारतीय सवारी साधनलाई लक्षित गरी सञ्चालन गरेको विशेष ट्राफिक अनुगमन तथा सचेतना अभियानका क्रममा नियमविपरीत सवारी सञ्चालन गर्ने ६ चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको जनाएको हो।
कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने केही सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने तथा सडक सुरक्षामा चुनौती सिर्जना गर्ने गरेको भन्दै सर्वसाधारणबाट पटक–पटक गुनासो आउने गरेको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै पोखरामा भारतीय नम्बर प्लेटका सवारी साधनलाई लक्षित गरी पार्किङ व्यवस्थापन, ट्राफिक नियमबारे सचेतना र नियमित अनुगमन अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा चालकलाई नेपाली ट्राफिक नियम, पार्किङ व्यवस्था र सुरक्षित सवारी सञ्चालनबारे जानकारी गराइनुका साथै नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नेपाल प्रवेश गर्ने सबै विदेशी सवारी चालकलाई नेपाली ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको स्थानमा मात्र सवारी पार्किङ गर्न तथा सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तथा सडक दुर्घटना न्यूनीकरण गर्न अनुगमन र सचेतना अभियान निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।





