पोखरामा फुटपाथमा पार्किङ गरी राखिएका १६५ सवारीसाधन कारवाहीमा

पोखरा । पोखराका विभिन्न व्यस्त क्षेत्रका फुटपाथमा जथाभावी पार्किङ गरी पैदलयात्रीलाई आवतजावतमा अवरोध पुर्‍याउने १६५ सवारीसाधनमाथि कारवाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिकाको संयुक्त टोलीले न्यूरोड, सभागृह चोक, महेन्द्रपुल र चिप्लेढुङ्गा क्षेत्रमा फुटपाथमा पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकल हटाउँदै आवश्यक कारवाही अघि बढाएको हो।

फुटपाथमा पार्किङका कारण सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न कठिन भएको भन्दै व्यापक जनगुनासो आएपछि पोखरा महानगरपालिकाले पटक–पटक माइकिङमार्फत सचेत गराएको थियो। तर चेतावनीका बाबजुद पनि अटेरी गरेपछि प्रहरीले जेठ ४ र ५ गते सोमबार र मंगलबार विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर गणेश पाण्डे अनुसार सोमबार ३८ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको थियो, जसमा ३२ स्कुटर र ६ मोटरसाइकल रहेका छन्। यस्तै, मंगलबार ६३ वटा सवारीसाधनलाई ‘अन द स्पट’ कारवाही गरिएको तथा थप ६४ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिइएकामध्ये ४९ स्कुटर र १५ मोटरसाइकल रहेका छन्।

प्रहरीले फुटपाथमा सवारीसाधन पार्किङ नगर्न आग्रह गर्दै गरेको पाइएमा कारवाही हुने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button