गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम

पोखरा, १ फागुन । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा बिहीबारदेखि सोंथर बेँसी टारी बजार मेला शुरु भएको छ ।

तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने छ । मेलाको समाजसेवी नरबहादुर गुरुङले उद्घाटन गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मेलामा राखिएको गोरु जुधाइँ प्रतियोगिता मुख्य आकर्षण बनेको थियो । गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको उक्त गुरु जुधाइँ प्रतियोगितामा १६ वटा गोरुको सहभागिता रहेको थियो ।

यस वर्षको गोरु जुधाइँ प्रतियोगितमा पनि स्थानीय पदमबहादुर विकको गोरु प्रथम भएको छ भने भूमलाल अधिकारीको गोरु द्धितीय भयो । प्रतियोगितामा प्रथम हुनेले ८ हजार र द्धितीय हुनेले ६ हजार नगद र प्रमाण पत्र प्राप्त गरे । मेलामा नागिधारको घाटु नाच प्रस्तुत गरिएको थियो ।

त्यस्तै खुल्ला फाइब ए साइड पुरुष फूटबल खेलकुद प्रतियोगिताहरु तर्फ २० टिमको सहभागिता रहेको थियो । बिहीबार ७ खेल सम्पन्न भएको छ ।

कार्यक्रमममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय सिक्लेसले मेलालाई ४० हजार सहयोग गरेको छ ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय सिक्लेसका प्रमुख संग्राम कार्की, कृषि ज्ञान केन्द्र कास्कीका अधिकृत रामकृष्ण अर्याल, मादी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रमेबहादुर गुरुङ, वडा नं. १० का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, सोंथर बेँसी विकास समितिका सल्लाहकार यमनाथ अधिकारी, सल्लाहकार तेज बहादुर गुरुङले मेलाले स्थानीय कृषि तथा पर्यट प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए ।

सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवद्र्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गरेको हो ।

मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला फाइब ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ ३० बर्ष भन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्ट्‌छुट्टै खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चलित्र नाच, स्थानीय दोहोरी तथा गायक गायिकाहरुको गायन, भजन लगायत प्रस्तुति रहेका छन् ।

त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवद्र्धनको सम्भावना शीर्षकमा वक्तित्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समितिका द्धितीय उपाध्यक्ष दिर्गमान गुरुङले जानकारी दिए ।

३५ वर्स अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो टारी बजार मेला विविध कारण हराउन पुगी स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै पुनः शुरुवात गरिएको छ । २०७९ सालमा त्यस भेकका सामाजिक अगुवाहरुको पहलमा सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराइ सो समितिले मेलालाई पुन ब्युताउने काम गरेको मादी – ८ का जनप्रतिनिधि तथा सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ्ले जानकारी दिए ।

मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक वेदबहादुर गुरुङले स्वागत तथा सोंथर बेँसी विकास समितिका सचिव डिल्लीराज गिरी र सहसचिव राजेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । मेलामा दर्शकको उत्साहजन सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button