गण्डकीसँगै ५ प्रदेशबाट लामो दुरीमा चल्ने सवारीसाधन ३ दिनका लागि बन्द

पोखरा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गण्डकी, बागमती, लुम्बिनी, मधेश र कोशी प्रदेशका जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म गण्डकीसहित देशका उक्त पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरेकाले प्राधिकरणले तीन दिन सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कास्की, पर्वत, बागलुङ, गोरखा, चितवन, नवलपरासी लगायतका संवेदनशील जिल्ला हुँदै चल्ने लामो दूरीका काठमान्डू उपत्यका भित्रिने तथा बाहिरिने विभिन्न सवारीसाधन आवागमन बन्द गर्न निर्देशन जारी गरेको छ ।

वर्षातका कारण पहिरो, बाढी, डुबान तथा अन्य विपद् हुने उच्च सम्भावना रहेको भन्दै प्राधिकरणले यात्रु र सवारी चालकलाई सतर्क रहन अनुरोध गरेको छ । साथै, सडक व्यवस्थापन गर्ने निकाय र सुरक्षाकर्मीलाई सवारी आवागमन रोकथाम र यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्न समेत निर्देशन दिएको छ ।

सम्भावित जोखिमका कारण अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन रोक्न भनिएको छ भने यात्रुहरूलाई सुरक्षित रहन र आधिकारिक निकायबाट आउने सूचना रेडियो, टेलिभिजन, अनलाइन संचारमाध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन आग्रह गरिएको छ ।

असोज १८ देखि २० गतेसम्मको भारी वर्षाले कतिपय स्थानमा जोखिम निम्त्याउने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button