कास्कीमा राति १० बजेसम्म देउसी-भैलो खेल्न पाइने

नेपाली संस्कृति र मौलिकता झल्किने गरी पर्व मनाउन आग्रह

पोखरा । नेपालका महान् चाडहरू मध्ये एक तिहार नजिकिँदै गर्दा कास्की प्रशासनले जिल्लाभरका नागरिकलाई सांस्कृतिक मर्यादा र मौलिकता भित्र रहेर चाडपर्व मनाउन आग्रह गरेको छ। नेपाली मौलिक परम्पराको पहिचानका रूपमा रहेको देउसी–भैलो खेल्ने परम्परालाई जोगाउँदै, जिल्ला प्रशासन कार्यालय, कास्कीले राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तिहारको मुख्य आकर्षण देउसी–भैलो खेल्ने परम्परालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्दै समाजमा शान्ति सुरक्षा समेत कायम राख्ने उद्देश्यका साथ राति १० बजेसम्म देउसी–भैलो खेल्न अनुमति दिइएको बताइन । ‘हामीले आज नै सार्वजनिक सूचना मार्फत राति १० बजेसम्म देउसी–भैलो खेल्न भनेका छौ,’ शर्माले पोखरा न्युजसँग भनिन, ‘देउसी–भैलो खेल्दा नेपाली संस्कृति र मौलिकता झल्किने गरी परम्परालाई कायम राख्दै व्यवस्थित र मर्यादित रूपमा खेल्न सबैमा आग्रह छ ।

संस्कृति र परम्पराको रक्षा गर्नु साझा जिम्मेवारी भएको भन्दै उनले चाडपर्वलाई मर्यादित रूपमा, स्नेह र सहिष्णुतासँगै खेल्न आग्रह गरिन । ‘हाम्रा सबै चाडपर्वले सामाजिक सहअस्तित्व र सांस्कृतिक एकताको झल्को दिन्छन् । म सबै कास्कीवासीलाई तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसरमा शुभकामना दिन चाहन्छु । आपसी सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षामा खलल नपर्ने गरी पर्व मनाउन हार्दिक अनुरोध छ,’ प्रजिअ शर्माले भनिन ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै तिहारको मुख्य आकर्षण देउसी–भैलो खेल्ने परम्परालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न निर्देशन समेत दिएको छ।

कडा निगरानी र शान्ति सुरक्षामा प्राथमिकता
चाडपर्वको बेला सुरक्षालाई सर्वोच्च प्राथमिकता राखेको जनाउँदै प्रशासनले सार्वजनिक शान्ति भङ्ग गर्ने, गैरकानुनी कार्य गर्ने वा सुरक्षामा असर पार्ने जो कोहीमाथि तत्काल कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। । प्रशासनले कुनै पनि शंकास्पद गतिविधि देखेमा वा कानुन विपरीतका कार्य भएको पाएमा तुरुन्त नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन सबै नागरिकलाई अनुरोध गरेको छ।

आतिशबाजी, पटका र विस्फोटक पदार्थमा प्रतिबन्ध
तिहारमा सामान्यतः हुने पटका, आतिशबाजी र विस्फोटक पदार्थको प्रयोगमा यस वर्ष पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाउने र जनधनको क्षति हुन सक्ने भएकाले कडाइका साथ निगरानी गरिने प्रशासनले जनाएको छ।आतिशबाजी, पटका, विस्फोटक पदार्थ, र अन्य हानिकारक वस्तुको प्रयोग र ओसारपसारमा नगर्न र गरेको पाइएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

आपूर्ति व्यवस्थापन र बजार अनुगमन
चाडबाडका बेला अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज र नियमित बनाउनका लागि प्रशासनले बजार अनुगमन बढाउने निर्णय गरेको छ। खाद्यान्न, पेट्रोलियम पदार्थ, यातायात, र दैनिक उपभोगका वस्तुहरूको वितरणमा कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्य लिने व्यापारीलाई कडा कारबाही गरिने प्रशासनले स्पष्ट गरेको छ। त्यस्तै, होटल, रेस्टुरेन्ट, मनोरञ्जन स्थल तथा मेला–महोत्सव आयोजना गर्ने स्थानहरूले पनि चाडपर्वका समयमा सार्वजनिक शान्ति र स्वच्छता कायम राख्नुपर्ने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button