
पोखरा । पोखराका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले पछिल्लो दुई दिनमा तीन छुट्टाछुट्टै स्थानमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त क्रममा ६ लाखभन्दा बढी नगद रकम समेत बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी, हरी बहादुर बस्नेतका अनुसार कार्तिक १ गतेबाट विशेष अपरेसन सञ्चालन गरिएकोमा २ र ३ गते पोखरा क्षेत्रका तीन स्थानमा एकपछि अर्को गरी जुवा खेल्ने र खेलाउने समूह पक्राउ परेका हुन् ।
नयाँ बजारबाट ५ जना पक्राउ
कार्तिक २ गते दिउसो ४:३० बजे पोखरा महानगरपालिका–९ नयाँ गाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीका अनुसार उक्त स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट २ लाख ५१ हजार ४५५ रुपैयाँ नगद र २१२ पत्ती तास बरामद भएको प्रहरीले जनाएको छ ।
विजयपुर जंगलबाट ७ जना पक्राउ
कार्तिक ३ गते बिहान १०:०० बजे पोखरा–२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलभित्र कौडा खेल्दै गरेका ७ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूबाट ७७ हजार २०५ रुपैयाँ नगद र १४ वटा कौडाको गोटी बरामद भएको छ ।
मोहरिया टोलबाट ८ जना पक्राउ
प्रहरीले ३ गते नै राती ११:३० बजे पोखरा महानगरपालिका–२ मोहरिया टोलमा जुवा खेल्ने कार्य भइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।
उक्त स्थानबाट ८ जना पक्राउ परेका हुन । उनीहरूको साथबाट २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
तीनै घटनामा गरेर २० जना पक्राउ परेका छन् र कुल रु. ६ लाख २ हजार १०५ रुपैयाँ नगद रकम प्रहरीले बरामद गरेको छ । जिल्लामा जुवातासजस्ता सामाजिक अपराधविरुद्ध प्रहरीले निगरानी र कारबाही कडाइका साथ अघि बढाएको डिएसपी बस्नेतले बताए ।





