
पोखरा । दशैं–तिहारको लामो बिदा, खुला मौसम र हिमाल–तालको मोहक दृश्यसँगै अहिले पोखरा आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ बनेको छ । सुस्ताएको पर्यटन पुनः जीवन्त बन्दै गएको पोखराका होटल, रेस्टुरेन्ट र पर्यटकीय स्थलहरूमा उत्साहपूर्ण चहलपहल देखिन्छ ।
मुख्य पर्यटकीय स्थलमा घुइँचो
पुम्दिकोट, विश्व शान्ति स्तूपा, तालबाराही मन्दिर, पातले छाँगो, गुप्तेश्वर गुफा, विन्दवासिनी मन्दिर लगायतका लोकप्रिय गन्तव्यहरूमा दैनिक हजारौँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय ‘अम्रेला स्ट्रिट’ भनेर चिनिने हल्लनचोकमा आन्तरिक पर्यटक फोटो खिच्ने र टिकटक बनाउने प्रमुख केन्द्र बनेको छ । फेवातालमा डुङ्गा सयर गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । तालभर रंगिन डुङ्गामा रमाइरहेका पर्यटकहरूले पोखराको वातावरणलाई अझ आकर्षक बनाएका छन् । त्यस्तै, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लायर लगायतका साहसिक गतिविधिमा समेत सहभागीहरू बढेका छन्
खुलेर खर्च गर्दै आन्तरिक पर्यटक
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलका अनुसार पोखरामा हाल भित्रिएका आन्तरिक पर्यटकहरू खुलेर रमाउने र खर्च समेत गर्ने गरेका छन् । ‘अहिले पोखरा भित्रिनुभएका पर्यटकहरूले होटल तथा रेस्टुरेन्टमा आफूलाई मन लागे अनुसार खाने र रोजेको रुममा बस्ने गर्नुभएको छ,’ भुजेलले भने। बस्न, खान र घुम्नको लागि मन खोलेर खर्च समेत गरेको पाइएको उनले बताए । पोखरा भित्रिएका पर्यटकले खाने बस्ने मात्र नभई प्याराग्लाइडिङ, बन्जी जस्ता एडभेन्चरका गतिविधि समेत उतिकै मात्रामा गर्ने गरेको भुजेलले बताए । ‘अहिले पोखराको पर्यटन लयमा फर्काउन आन्तरिक पर्यटकको ठुलो योगदान देखिएको छ । गिफ्ट र सामाग्री खरिद गर्ने आन्तरिक पर्यटकको खासै बानी नहुने भएकाले त्यसबाहेकका पर्यटनका हरेक क्षेत्रमा उहाँहरूको योगदान देखिएको छ,’ भुजेलले भने। पोखरामा हाल गुणस्तरीय आन्तरिक पर्यटक भित्रिएको र विदेशी पर्यटकको संख्या समेत दिनानुदिन बढ्दो रहेको उनले बताए ।
होटल व्यवसायी उत्साहित
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, हालका दिनमा पोखराका होटेलहरूमा पर्यटकको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ। ‘दशैं–तिहारको लामो बिदा र अनुकूल मौसमले पोखरामा देशभरका आन्तरिक पर्यटक आकर्षित भएका छन् । विदेशी पाहुनाको आगमन पनि बढ्दो छ,’ सुवेदीले भने । उनका अनुसार शुक्रबार र शनिबार लेकसाइड क्षेत्रमा करिब ९० प्रतिशत होटल भरिएका छन् । हाल पोखरा आसपासमा १२ सयभन्दा बढी पर्यटकीय स्तरका होटल सञ्चालनमा रहेको अध्यक्ष सुवेदीले बताए । तिनमा ७०० भन्दा बढी होटल लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित रहेको र पाँचतारेदेखि एकतारे होटेलसम्मका संरचनाले करिब ४० हजार पाहुनालाई एकै रातमा बसोबासको सुविधा दिन सक्ने अध्यक्ष सुवेदीको भनाई छ।
पदयात्रामा समेत उस्तै छ चहलपहल
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, घोरेपानी–पुनहिल जस्ता प्रसिद्ध पदमार्गमा ट्रेकरहरूको चाप बढेको छ । ‘हाल १२ सय भन्दा बढी विदेशी पर्यटक र चार देखी पाँच हजार हाराहारीमा नेपाली पर्यटक पोखरा हुँदै लामा छोटा पदमार्गमा निस्किएका छन् । हालैको जेनजी आन्दोलन पछि आन्तरिक पर्यटन प्रवर्धनमा आन्तरिक पर्यटकले ठुलो साथ दिएको देखिन्छ । यो पर्यटनका लागि खुसीको विषय हो,’अध्यक्ष आचार्यले भने । सुरुमा आन्दोलनको हल्लाका कारण विदेशी पर्यटकले भिसा रद्द गरेको भए पनि पछिल्लो समय पुनः विदेशी पर्यटकले बुक गर्ने र घुम्न आउने क्रम बढेको उनको भनाई छ ।
पोखरामा छिमेकी मुलुक भारत, चीनसँगै अन्य मुलुकबाट विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ । सरकारी स्तरबाट खासै पहल गरिएको नदेखिएता पनि स्वतःस्फूर्त रूपमा आन्तरिक पर्यटकहरूले घुम्ने संस्कृतिको विकास गर्दै माहौल बढाएको पर्यटन व्यवसायीको भनाई छ ।





