विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । विदेशमा अध्ययन तथा रोजगारीको अवसर दिलाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–१० स्थित ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक, चितवन राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। अध्ययन भिसामा विदेश पठाइदिने भन्दै उनले सोही कन्सल्टेन्सीको खातामा दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ जम्मा गराई पोर्चुगल पठाउने प्रक्रिया भइरहेको भन्दै झुक्याएर कन्सल्टेन्सी बन्द गरी फरार भएको आरोप रहेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मिति २०८२ माघ २० गते सिलवाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार सिलवालले आफ्नो नाम परिवर्तन गरी केदार प्रसाद सिलवालको परिचय दिँदै अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाइदिने प्रलोभन देखाएका थिए। उनले सोही नाममा १२ लाख रुपैयाँको चेक काट्न लगाई भुक्तानी लिएको तथा केदार प्रसाद सिलवालकै नामको बैंक खातामा ४० हजार रुपैयाँ समेत जम्मा गर्न लगाई जम्मा १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

यसै गरी सिलवालले चितवनको भरतपुर महानगरपालिका–१० मा पनि ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी सञ्चालन गरी चार जनालाई सर्बिया कामदार भिसामा पठाइदिने भन्दै २१ लाख ९० हजार ५ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी समेत आएको प्रहरीले जनाएको छ।

त्यसै गरी स्पेन पठाइदिने बहानामा अन्य तीन जनाबाट समेत १२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितहरू सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button