
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशका सबै जिल्लामा निर्वाचन प्रहरीहरूलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको छ।
निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’, ‘सवारी नियमको पालना गरौँ, दुर्घटनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ लगायतका सन्देशमूलक विषय समेटिएको थियो।
त्यसै गरी सवारी दुर्घटना न्यूनीकरणमा निर्वाचन प्रहरीको जिम्मेवारी तथा भूमिका, सवारी चालक, सहचालक र सडक प्रयोगकर्ताको दायित्व, सवारी नियमसम्बन्धी कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
उक्त ट्राफिक सचेतना कार्यक्रमबाट गण्डकी प्रदेश अन्तर्गतका सबै ११ जिल्लामा तालिमरत १० हजार ४४८ जना निर्वाचन प्रहरी लाभान्वित भएको जनाइएको छ।
निर्वाचन अवधिमा बढ्ने सवारी चाप र सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न यस्तो सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।





