दोहा कतार । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लक डाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भईरहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार, युएई र कुवेतबाट नियमित उडान सञ्चालन गर्ने भए सँगै दोहाबाट आज नेपाल एयरलाइन्सले अन्तिम सहजीकरण उडान गरेको छ ।
गएको जुन २० तारिक राति नेपाल एयरलाइन्सकै उडान मार्फत सहजीकरण उडानको सुरुवात भएको थियो । आज भएको उडान मार्फत ४ महिलासहित १४८ जना नेपालीहरू नेपाल फर्किएका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा सहजीकरण र समन्वयका तथा बिदाईका लागि कतारका लागि नेपाली राजदूत नारादनाथ भारद्वाज सहित राजदूतावासका अधिकारीका साथै एन आर एन लगायत नेपाली डायस्पोरा कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दोहाबाट हाल सम्म हिमालय एअरलाईन्सको २ ओटा कर्पोरेट उडानसहित नेपाल र हिमालय एअरलाईन्स ले ५२ ओटा उडान भरेका छन् ।भोलि अर्थात् अक्टोबर एक बाट नेपाल, हिमालय र कतार एयरवेजको नियमित दैनिक एकरएक ओटा व्यावसायिक उडान हुने भएकोले अब उप्रान्त सिधै उक्त विमान सेवाका आधिकारिक ट्राभल एजेन्सी मार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने भएको छ ।