पोखरासहितका गन्तव्यस्थलमा मौसम धुम्म, पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ । नजिकैका डाँडाकाँडा पनि तुँवालोले ढाकिएका छन् ।

हवाई उडान नियमित नहुँदा पर्यटक आगमन रोकिएको छ । लम्बिँदो सुक्खा यामका कारण डढेलो अनियन्त्रित रुपमा फैलिएको छ । पर्यटकले घुम्न रुचाउने याम यसै उराठलाग्दो बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले गत १० गतेयता घोरेपानी-पुनहिल क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको बताए ।

“पदयात्राको याममा मौसम प्रतिकुल छ, हिमाल खुलेको छैन”, उनले भने, “चार/पाँच दिनदेखि पोखराको हवाई सेवा प्रभावित हुँदा विदेशी पर्यटक पनि आउन पाएनन् ।” नयाँ वर्षमा पर्यटकीय चहलपहल बढेकामा त्यसयता विस्तारै पर्यटकको आउजाउ घट्दै गएको पुनले बताए ।

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् ।

तीन हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका १० अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत दर्जनौँ हिमाल एकसाथ देख्न सकिने पुनले बताए ।

“असोजदेखि मङ्सिरसम्म र चैत-वैशाखको गुराँस फुल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्”, पुनले भने ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले वातावरणीय प्रदूषणको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको बताए ।

“पर्यटक घुम्न र ठाउँ हेर्न आउने हो अहिले मौसम खुलेको छैन, हवाई उडान पनि प्रभावित बनेको छ, सडक मार्ग पनि उस्तै छ”, उनले भने, “एक सातायता पोखरामा पर्यटकको आगमन ह्वात्तै घटेको छ ।”

बढ्दो वायु प्रदुषणले जनस्वास्थ्यसँगै अन्य मानवीय गतिविधिमा पनि असर पुर्याइरहको अध्यक्ष अधिकारीले बताए । चैत-वैशाखको याममा पदयात्रा गर्न विदेशी पर्यटक बढी आउने गरेकामा मौसमले चुनौती थपेको उनको भनाइ छ ।

प्रतिकूल मौसमकै कारण कतिपय पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन् ।

गत महिना बेमौसमी झरीले पदयात्रा पर्यटन प्रभावित भएकामा अहिले सुक्खा याम र तुवाँलोले पर्यटन क्षेत्र प्रभावित बनेको हो ।

दोस्रो मुख्य पर्यटकीय याममै पर्यटकीय राजधानीको मौसम कयौँ दिनसम्म धुम्म हुँदा पर्यटन व्यवसायी निराश बनेका छन् ।

उनीहरु मौसम खुल्ने प्रतीक्षामा छन् । गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार गत सोमबारसम्ममा प्रदेशका चार सय ६७ स्थानमा डढेलो लागेको छ । डढेलोले प्रदेशका नौ जिल्लाको करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए ।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ ।

वायुमण्डलमा प्रदुषण बढ्नुमा डढेलोलाई प्रमुख कारक मानिएको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा नकारात्मक असर पुर्याइरहेको वन अधिकृत थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button