पोखरा । पोखरा महानगरपालिका वडा नं २३ वाम्दीमा कास्की कै व्यवस्थित र नमुना भलिवल खेल मैदानको निर्माण कार्य सम्पन्न भएर उद्घाटनको पर्खाइमा छ ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)को सक्रियतामा पोखराको २३ वाम्दीमा कास्कीकै नमुना भलिवल खेल मैदान निर्माण कार्य सम्पन्न भएको हो । गत २०७६ माघमा निर्माण कार्य शुरु भएको उक्त भलिवल खेल मैदानको गत असारमा सम्पन्न भए पनि रङ्ग–रोङ्गनको काम भने केही दिन अघि सम्पन्न भएको उपभोक्ता समितीका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो । “निर्माण कार्य सम्पन्न गरीं अव हामी उद्घाटनको पर्खाइमा छौं, भव्य कार्यक्रमका विच उद्घाटन गर्ने योजना बनाएका छौं”, उहाँले भन्नुभयो ।
“यो कास्कीकै नमुना भलिवल मैदान हो” कास्की जिल्ला भलिवल संघका अध्यक्ष समेत रहेका पराजुलीले भन्नुभयो–“पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टर पछि यहाँ मन्त्रीज्युको सक्रियतामा निर्माण सम्पन्न गरेका हौं ।” कोभिड १९ को प्रभाव तथा यो वर्ष अत्याधिक वर्षाका कारण काममा केही अवरोध आए पनि समयमानै काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार युबा तथा खेलकुद मन्त्रालयको ५० लाख र उपभोक्ता समितिको ५ लाख गरि कुल ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
१ हजार २ सय क्षमताको दर्शक दिर्घा (प्यारापिट) समेत रहेको भलिवल खेल मैदानमा भने शौचालय र चेञ्जिङरुम नभएको अध्यक्ष पराजुलीले बताउनुभयो । “अव हामीलाई शौचालय र चेञ्जिङरुमको आवश्क्यता रहेको छ”, उहाँले भन्नुभयो–“यसका लागि हामीले राष्ट्रिय खेलकुद परिषद लगाएतलाई आग्रह गरेका छौं ।” मैदानको सवै निर्माण कार्य अन्तर्राष्ट्रिय मापदण्डको भए पनि अहिलेको मुख्य आवश्यक्ता शौचालय र चेन्जिङरुम यथासिघ्र निर्माण गर्न सके कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि वाम्दी भलिवल खेल मैदान सबैको रोजाइमा पर्ने उहाँको भनाई छ ।
पोखरा रंगशालावाट १० किलोमिटर पश्चिम तर्फ रहेको वाम्दी भलिवल खेल मैदान भविष्यमा भलिवल खेलका लागि आर्कषणको थलो बन्ने निश्चित रहेको अध्यक्ष पराजुलीले बताउनुभयो । भलिवल खेलमैदान निर्माण भएको स्थान पोखरा महानगरको वडा नं १८, २४ र अन्नपुर्ण गाउँपालिकाको समेत संगम स्थल भएकाले यस क्षेत्रका युवाहरुलाई भलिवल तर्फ आर्कषित गर्न तथा खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।