राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । झट्ट सोच्दा र बुझ्दा धेरैलाई गीत रिलिज हुनु नै सांगीतिक बजार चलायमान हुनु हो जस्तो लाग्छ । यो कोरोना कहरका बीच समेत केही गीत संगीत रिलिज भइरहेका छन् । यसरी हेर्दा लाग्न सक्छ कोरोनाले गीत संगीतमा कुनै असर र प्रभाव पारेको छैन । गीत संगीत बजारमा आइरहेका छन् ।
तर अवस्था यस्तो होइन । कोरोनाले अरु क्षेत्रमा जस्तै कलाकार, गीत संगीत, संगीत उद्योग र संगीत ब्यबसायीहरुलाई त्यति नै असर र प्रभाव पारेको छ । कोरोना कहरकै कारण यतिबेला साँगीतिक क्षेत्रमा थुप्रै चुनौतीका पहाडहरू खडा भएका छन् ।
आज हामीले गीतकार सुमन श्रापितसँग यतिबेलाको साँगीतिक क्षेत्रमा रहेका चुनौती र यसको समाधानको विषयमा आफ्नो धारण बुझ्न खोजेका छौँ ।
त्यसो त गीतकार श्रापितको जन्म भारतको सिलोङमा भएको हो । उहाँ ६ बर्षको उमेरमा पुख्र्याैली थाकथलो तित्याङ गाबिस वडा नं.४ बाग्लुङमा फर्कनुभयो । जुन अहिले बाग्लुङ नगरपालिका वडा नम्बर ९ मा पर्छ । प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन बाग्लुङमा सकेर पढाइ र सांगीतिक तृष्णा बोकेर २० बर्ष अघि उहाँ पोखरा छिर्नुभयो ।
शुरु–शुरुमा गीतसंगीतमा रुचि भएपनि उहाँले पेशा पत्रकारिता बनाउनुभयो । पछि अन्य व्यापार व्यवसायमा समेत उहाँले हात हाल्नुभयो । तर व्यापार ब्यवसाय गर्दा गीत संगीतको पाटो ओझेल पर्न थालेको उहाँलाई महशुस भयो । अनि गीत संगीतलाई छोड्न नसकेपछि व्यापार व्यवसायलाई ओझेल पार्नुभयो । अहिले पूर्ण रूपले गीत संगीत सिर्जना र सांगीतिक गतिविधिमै उहाँ लागिरहनु भएको छ । उहाँले हालसम्म झण्डै १६ सयको हाराहारीमा गीत लेख्नुभयो । उहाँले रचना गरेका गीत मध्ये दुई सयको हाराहारीमा गीत रेकर्ड भएका छन् ।
उहाँका रेकर्डेड गीत मध्ये मिलन अमात्यले गाउनु भएको ‘जसलाई मुटुको अंश’, उदित नारायण झा, दिपा नारायण झा, अन्जु पन्त र प्रशान्त तामाङले गाउनु भएको फिल्म परदेशीको ‘सिरिमा सिरी बतासै चल्यो’, त्यसै गरि स्वरूपराज आचार्यले गाउनु भएको ‘मेरो धड्कन तिमी’ फिल्म जीवनलीलाको ‘कहिले ओराली झर्छ जिन्दगी’, फिल्म निशानीको झ्याउरे गीत ‘सोल्टी ज्यू’ र ‘अच्छा लेकिन क्या बात’ डासिन्ङ गीत ‘दिलराजा दिलरानी’, ‘यसपालीको तीज कत्ति रमाइलो’, ‘तारे भीर बुकी फुल्यो’, ‘मायाको फुर्लुङ’, ‘बदनाम गरेर’ आदि चर्चित बने । उहाँ विभिन्न वाङ्मयिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
गीतकार श्रापितले गीत संगीतमा भएको ट्रेन चेन्ज, प्लेटफर्म चेन्ज तथा गीत संगीत क्षेत्रमा लागेका ब्यवसायीहरुनै धरासायी बन्दा संगीत क्षेत्र धरासायी बनेको बताउनुहुन्छ । आम्दानी नहुँदा कलाकारमा नैराश्यता बढ्दै जाँदा उनीहरु यो क्षेत्रबाट पलायन हुने खतरा उतिकै रहेको उहाँको तर्क छ । यसका अलवा नयाँ कलाकारहरुलाई उचाइमा पुग्न र उचाईमा पुगेकालाई जोगाउन उतिकै गाह्रो भएको सुनाउनुहुन्छ । सबै जना मिलेर अहिलेको चुनौतीको सामना गर्ने हो भने समस्याको समाधान भई पुरानै अवस्थामा फर्कनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
गीत संगीतको ट्रेन चेन्ज
कुनै पनि समस्या, कुनै पनि महामारी वा विपत्ति आदि आउदा सबै भन्दा छिटो र धेरै प्रभाव पार्ने गीत संगीत क्षेत्रमा नै हो । कलाकारहरु रात रात गीत बनाउँछन् र सचेतना जगाउँछन, खबरदारी गर्छन, मार्गनिर्देशन गर्छन । जून राज्यले गर्ने काम कलाकारले आफ्नो र परिवारको गाँस काटेर गर्छन । यो कोरोना कहरको महामारीका पनि यस्तै सचेतना जगाउने थुप्रै गीत संगीत आए र आइरहेका छन् । अरु विभिन्न समस्या र बिपत्ति आउँदा गीत संगीत बन्थे बनाइन्थ्यो सकिन्थ्यो तर यो कोरोना महामारी यति मात्रै सिमित रहेन । साँगीतिक क्षेत्रलाई धरासायी हुने गरी निकै चुनौतीपूर्ण बन्यो । विषयगत रुपले पनि गीत संगीतको ट्रेन नै चेन्ज गरि दियो ।
समय, परिस्थिति, पुस्ता र प्रबिधिले गीत संगीतमा ठूलो प्रभाव पार्छ । जस्तो: सिआरबिटि, पिआरविटिको जमानामा हाइ डोचका सेन्टिमेन्टल गीत संगीत चल्यो । त्यसपछि मेला महोत्सवको जमना आयो डान्सिङ गीत संगीत चल्यो । मेला महोत्सव चलिरहेको र मेला महोत्सवलाई टार्गेट गरेर डान्सिङ गीत संगीतको बनिरहेको बेला कोरोना कहर आएपछि म्यूजिकको ट्रेन नै चेन्ज भएको छ । धेरै दर्शक स्रोता फुर्सदिलो भएकोले टिकटकतिर लगाव बढ्यो र त्यही ढङ्गका हल्का फुल्का टिकटकको टार्गेट गीतहरु बजारमा आएका छन् । ताकि जीवन्त गीत संगीत बजारमा आउन सकेका छैनन् । यसरी गीत संगीतको ट्रेन चेन्ज हुने साँगीतिक क्षेत्रको लागि मुख्य चुनौती रहेको गीतकार श्रापितले बताउनुभयो ।
गीत संगीतको प्लेटफर्म चेन्ज
कोरोना कहर अघिको मेला महोत्सव निकै फस्टाएको थियो । देश बिदेशमा हुने विभिन्न मेला महोत्सवमा आ–आफ्नो रेट कबुल गरेर स्टेज पर्फमेन्स गर्ने, लाईभ स्टेज दोहोरी गाउने कलाकारदेखि वाद्यबादक, ब्यबसायी सबैको निम्ति साँगीतिक बजार निकै उत्साहजनक थियो । जब कोरोना कहरको शुरुवात भयो तब यी सब बन्द भए । त्यसपछि कलाकारहरुले गीत संगीत पस्किने र दर्शक स्रोताले मनोरञ्जन लिने माध्यम डिजिटल माध्यम बन्यो । स्टेज लाईभ दोहोरीको बिकल्प यतिबेला लाइभ दोहोरी युट्युब च्यानलहरुका लाईभ दोहोरीहरु बनेका छन् ।
कलाकारहरुले आ–आफ्नो च्यानल खोलेर र विभिन्न डिजिटल माध्यमबाट आफ्नो प्रस्तुति दिइरहेका छन् । यसरी कोरोना कहरले स्थापित गरेको गीत संगीतको डिजिटल प्लेटफर्मलाई पुनः पुरानै प्लेटफर्मतिर मोड्न झट्टै चुनौतिपूर्ण नै छ । जति रौनकता र धेरैलाई प्रत्यक्ष नाफा दिने काम मेला महोत्सवको गीत संगीतको स्टेजले गर्छ त्यो त्यतिधेरै डिजिटल प्लेटफर्मबाट हुदैँन । केही सिमितलाई सिमित फाइदा हुन सक्छ । अहिले गीत संगीतको प्लेटफर्म परिवर्तन भइरहेकोले त्यसलाई पुनः पुरानै प्लेटफर्मतिर मोड्न त्यती सहज भने नभएको तर्क उहाँ गर्नुहुन्छ ।
गीत संगीत उद्योग र ब्यवसायीहरु धरासायी
गीत संगीतलाई उद्योग र ब्यबसाय बनाएर लाखौ लाख खर्चेका उद्योगी तथा व्यवसायीहरु यतिबेला न रुन सकिरहेका छन् न हास्न, न मर्न सकिरहेका छन् न बाँच्न । उठ्नै नसक्ने गरि धरासायी बनिरहेका छन । त्यसैमाथि भ्रमण बर्ष २०२० भनेर आँखा चिम्लेर साँगीतिक ब्यवसायमा ठुलो लगानी गरे । दुर्भाग्य, संगीत सम्बन्धित सम्पूर्ण ब्यबसाय बन्द छन् । संगीत प्रशिक्षक, रेकर्डिङ स्टुडियो, दोहोरी साँझ, बार, गजल साँझ, च्यारिटी शो आदि कुनै पनि झट्ट खुल्ने छाँटकाँट पनि देखिदैन र खुले तापनि गास, बास, कपास पछि बल्ल मनोरञ्जन पर्यो ।
आर्थिक धरासयमा परेका ग्राहकले पहिलो प्राथमिकतामा मनोरञ्जनलाई राखेर कहाँ गीत संगीतका धरासायी उधोगी र ब्यवसायीहरुलाई उकास्न संभव छ र? यसलाई पनिः यथास्थितिमा ल्याउन ठूलो चुनौती बनेको छ । कोरोना कहरका कारण संगीत क्षेत्रलाईनै आफ्नो व्यवसायिक क्षेत्र बनाएका व्यवसायिहरु चिन्तित बनेका छन् । गीत संगीत क्षेत्रमा उनीहरुले गरेको लगानीका कारण धेरै संगीतकर्मीले प्लेटफर्म पाएका थिए । तर ती व्यवसाय नै समस्यामा परेर व्यवसायी धरासायी बन्दा त्यसको प्रत्यक्ष मार सांगीतिक क्षेत्रमा परेको श्रापितले सुनाउनुभयो ।
कलाकारहरुको नैराश्यता र पलायन
चाहे जन्ममा होस या मृत्युमा, चाहे दुःखमा होस या सुखमा गीत संगीत अपरिहार्य छ । संगीत बिना जीवन निरस छ । तसर्थ मानिसको जीवनको एउटा महत्वपूर्ण पाटो सम्हाल्ने कलाकारहरु आफ्नो क्षेत्रबाट नैराश्य बन्नु र पलायन हुनु दुःखको कुरा हो । यतिबेला कोरोना कहरकै कारण कुनै काम छैन, प्लेटफर्म छैन, कमाई छैन, रोजिरोटी छैन ।
कलाकारितासँगै बैकल्पिक रुपमा केही अन्य व्यवसाय गर्ने कलाकारहरुलाई सहज होला तर नितान्त कलाकारितामै बाचेकाहरु यतिबेला बैकल्पिक व्यवसायतिर लाग्न बाध्य भइरहेका छन । तर के गर्ने, के नगर्ने अन्योलमा छन । अभाव र नैराश्यताका कारण कति कलाकारहरु आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् त कति गीत संगीतबाटै पलायन उन्मुख छन् । आम्दानी ठप्प हुँदा परेको समस्याका कारण निरास बनेका कलाकार यो क्षेत्रबाट पलायन हुन समेत थालेको दावी श्रापित गर्नुहुन्छ ।
कलाकारहरुलाई साख बनाउन र बनाएकालाई जोगाउन गाह्रो
कुनै पनि खेल खेल्न मैदान हुनु पर्छ र प्रथम, द्वितीय, तृतीय आदि छुट्याउन प्रतिस्पर्धा हुनु पर्छ । यतिबेला साँगीतिक खेलको मैदान र प्रतिस्पर्धा दुबै बन्द छन । नयाँ नयाँ कलाकारहरुले आफ्नो करियर अर्थात् साख बनाउनबाट बन्चित बनेका छन भने लामो संघर्ष, अथक मेहनत र कयौं लगानी गरेर आफ्नो राम्रो साख अर्थात् करियर बनाएका कलाकारहरुले यथेष्ट उपलब्धि प्राप्ति बिना फेजआउट हुन पुगेका छन् ।
त्यति मात्रै नभएर राम्रो छबि बनाएका कलाकारहरुलाई पनि आफ्नो साख जोगाउने निकै गाह्रो भएको छ । नयाँ कलाकारलाई यात्रालाई अगाडि बढाउनै उचाइमा पृुग्न र उचाइमा पुगिसकेका कलाकारलाई उक्त उचाई कायम गर्न उतिकै अप्ठेरो भएको गीतकार श्रापित बताउनुहुन्छ ।
समाधानको लागि अबको बाटो
यो कोरोना महामारीको कहरमा साँगीतिक क्षेत्रको कुरा मात्र होइन हरेक क्षेत्रमा यतिबेला कमाउने, रमाउने भन्दा पनि बाँच्ने र बचाउने विपत्तिको समय हो । तसर्थ हामी जो कोही बाच्न र बचाउन लाग्नु पर्छ । साँगीतिक क्षेत्रको मात्रै कुरा उठान गर्नु पर्दा पेशा र ब्यवसायबाट धरासायिताका कारण कलाकारहरु रोग आफ्नो ठाउँमा छ तर भोक, शोक, अवाव र ऋणले थिलो थिलो बनेका छन् ।
कति पलायन उन्मुख छन् । यो चुनौती समाधानका लागि राज्य उत्तरदायी हुनु पर्छ । राज्यले कलाकारहरुलाई गहना भन्छ र गहना चाडपर्व लाएर अघिपछि थन्काए जस्तै आवश्यक पर्दा प्रयोग गर्छ अन्यथा बेवास्ता गर्छ । राज्यले कलाकारितालाई राष्ट्रको एक अभिन्न अंग स्वीकार्दैन । कलाकारहरु राष्ट्रका अभिन्न अंग हुन । यसकारण यो बिपत्तिमा कलाकार र कलाकारितालाई जोगाउनको निम्ति राज्यले ‘कलाकार भत्ता’ को ब्यबस्था गर्नुपर्छ ।
त्यसैगरि संगीत उद्योगी र ब्यवसायीहरुलाई उद्योग/ब्यबसायको इन्सुरेन्स वा राहतका प्याकेज जस्तोः घरभाडामा सहुलियत, बैंक ब्याजदरमा न्यूनीकरण आदि गरेर भएपनि धरासायिताको खाडलबाट उठाउनु पर्छ । यसैगरी गीत संगीतको ट्रेन चेन्जका कुरा, प्लेटफर्म चेन्जका कुरा कलाकारहरुले साख बनाउने र बचाउने जस्ता आदि इत्यादि कुराहरु कला र कलाकारितालाई बचाउने सक्यौं भने बिस्तारै समयको कोल्टो सङ्गै यथास्थितिमा अवश्य आउने छन् । विभिन्न समस्याका कारण सांगीतिक क्षेत्र गुज्रीएको भएपनि धैयर्ता सँगै केही कार्य गर्न सक्ने हो भने सांगीतिक क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास गीतकार श्रापित गर्नुहुन्छ ।