पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्राङ्क गरेको दाबी गर्दै युट्युबमा अपलोड गरिएको भिडियो डिलिट गरिएको छ । उक्त भिडियो बनाउनेलाई मुद्दा चल्ने समाचार सार्वजनिक भएसँगै भिडियो युट्युबबाट हटाइएको छ ।
पोखराबाट पत्रकार बोलेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील मजाक गरेर प्रश्नोत्तर शैलीमा तयार पारिएको ८ मिनेट ३७ सेकेन्डको भिडियो समीर भट्टराई नामक च्यानलमा सेप्टेम्बर ७ तारिकमा अपलोड गरिएको थियो ।
देब्रेतिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राखेर पुलिस केस गर्छु तँलाई भन्ने शब्द राख्दै दायाँतर्फ प्रश्न सोध्ने किशोरको फोटो राखेर थमनेल बनाएर अपलोड गरिएको भिडियो च्यानलका सञ्चालक समीर नाम गरेका उनै किशोरले तयार पारेको देखिएको छ ।
भिडियोमा राष्ट्रपति भण्डारीलाई नेकपा एमाले अध्यक्ष केपी ओलीसँग जोडेर प्रश्न गरिएको छ भने महँगो गलैँचा, २५ करोडको कार लगायतमा प्रश्न गरेको बनाइएको छ ।
भिडियो प्राङ्कको रूपमा तयार पारिएको भन्दै राष्ट्रपति भन्दै महिलाको जस्तो सुनिने आवाजमा कुरा गर्ने व्यक्ति सुदिप भएको बताइएको छ ।
मुलुकको राष्ट्र प्रमुख तथा संविधानको संरक्षकमाथि प्राङ्कको नाममा असभ्य शब्दावलीको प्रयोग गर्दै क्यारिकेचर गरेर भिडियो बनेपछि आपत्ति जनाइएको थियो भने यस सम्बन्धमा समाचार समेत प्रकाशित भएका थिए ।
यस सम्बन्धमा रातो पाटीले तयार पारेको समाचार सामाग्री हेर्नुहोस् : राष्ट्रपतिमाथि ‘प्राङ्क’ ! कानुनविद् भन्छन्– मुद्दा चलाउन मिल्छ