केशव पाठक, पोखरा न्युज-
लामो इतिहास वोकेको पोखरा रंगशाला अधिकरण भएको करिव ३० वर्ष पछि नयाँ स्वरुपमा आउने भएको छ । त्यो अन्य कारणले नभई रंगशाला भित्रका पुर्वाधार निर्माणका कारणले । लामो समय देखि विकास निर्माणमा पर्खाइमा प्रतिक्षारत पोखरा रंगशालाको दुर्गती बारे धेरैको चिन्ता समेत रहेको थियो । त्यही कुरालाई चिर्दै यस पटक युवा तथा खेलकुद मन्त्रालयले ३ करोड छुट्टाएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलका अनुसार सार्वजनिक ऐन अन्तर्गत केही महिनामा कार्य सम्पन्न हुने गरि सक्नु पर्नेछ ।
अध्यक्ष पौडेलका अनुसार मन्त्रालयले छुट्टाएको ३ करोड मध्ये पानीको वोरिङ्गका लागि १८ लाख, व्याडमिन्टन कभर्ड हलका लागि ३० लाख, सेमी कभर्डहलका लागि २५ लाख, आर्चरीका लागि ३० लाख, थाइ वक्सिङ्गका लागि १० लाख, रंगशालाको दक्षिण–उत्तर सम्म सडक पिचका लागि ३० लाख, स्केटिङ्ग पार्क तार जालीलाई १० लाख, भलिवल ट्रेनिङ्ग सेन्टरका लागि २५ लाख र वहुउद्धेश्यिय कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि ५० लाख रहेको छ । यो कभर्डहल अव २०७४ साउन मसान्त सम्म सम्पन्न भइसक्ने अध्यक्ष पौडेलले जानकारी दिए । पोखरा रंगशाला भित्रको फुटबल प्याराफिट भत्काउन मात्रै ४५ लाख छुटुटाइने छ । पुरानो प्याराफिट भत्काएर पुरै लेवलिङ्ग गरिने छ । नयाँ वन्न लागेको प्याराफिटका लागि ८५ करोड आउने र यसलाई वहुवर्षिय टेण्डर आह्वान गरि निर्माण प्रक्रिया थालिने छ ।
पोखरा रंगशालामा मिडिया सेन्टर
पोखरा रंगशालामा निर्माणहुन लागेको अर्को महतवुर्ण विषयमा पश्चिमाञ्चलको स्तरिय मिडिया सेन्टर समेत हो । यसका लागि पहिलो चरणमा २० लाख छुट्टयाएको छ । मिडिया सेन्टरमा सञ्चारकर्मीका लागि तालिम कक्ष, कार्यालय र सोझै प्रशारण गर्न सक्ने क्षमता सहितको हुनेछ । मिडिया सेन्टरमा वसेर एकै पटक १ सय जना पत्रकारले कार्य गर्न सक्नेछन । दक्षिण एशियाली खेलकुद सुरु हुनु अगावै यसलाई थप विस्तार समेत गरिने उनले वताए । ‘मिडिया सेनटरलाई आधुनिक बनाउन हामी पहल गर्ने छौ’ अध्यक्ष पौडेलले पोखरा न्युज संग भने । १३ औं दक्षिण एशियाली खेलकुद तयारीका लागि पोखरामा करिव सात खेल हुने वताउँदै यि खेलका सम्पुर्ण पुर्वाधारहरु समयमा नै सक्ने गरि कार्य गरिने अध्यक्ष पौडेलले जानकारी दिए । यसका अलवा मनाङ्गमा निर्माण कार्य भइरहेको हाइ अल्टिच्युट टे«निङ्ग सेन्टरका लागि २५ लाख, हेमजा खेल मैदानका लागि ८ लाख, ढिकुर पोखरी खेल मैदानका लागि ८ लाख रकम क्षेत्रिय खेलकुदले छुट्टाएको छ ।
‘यो त सुरुवात मात्रै हो’ क्षेत्रिय अध्यक्ष पौडेलले पोखरा न्युज संग कुरा गर्दै भने ‘हामी पोखरा र यस क्षेत्रको खेल विकासका लागि आएका हौं र अवका पुर्वाधार सम्पुर्ण अन्तराष्ट्रिय स्तरका हुनु पर्छ भन्ने हाम्रो मान्यता समेत हो ।’ हामीले हरेक कार्यहरुलाई गहन रुपमा लिएका छौं र क्षेत्रिय खेलकुदको टिम स्पिरिट पनि मिलेको हुनाले सवै कार्य सम्भव पनि भएका हुन अध्यक्ष पौडेलले भने । ‘हामी हाम्रो कामका लागि प्रष्ट छौ र त्यही अनुसार मन्त्रालयमा लविङ्ग पनि हुन्छ हामी आफु भित्र प्रष्ट भएकोले पनि मन्त्रालय हामी प्रती सकारात्मक छ ।’ अध्यक्ष पौडेलले भने ।
पोखरालाई खेलकुद पर्यटन संग जोडन पनि पुर्वाधार अन्तराष्ट्रिय मापदण्डका वन्नु पर्नेमा जोड दिंदै उनले ‘स्पोर्ट्स टुरिजम’ ले नै पोखराको अर्थतन्त्र धान्नेमा आफु विश्वस्त रहेको वताए । पोखरा रंगशालामा हालै निर्माण सम्पन्न स्केटिङ्ग पार्कमा दैनिक जसो २० जना पर्यटक आउने गरेको उदाहरण पेश गर्दै अध्यक्ष पौडेलले योजनावद्ध र व्यवस्थित कार्यक्रमले नै खेलाडीलाई पदक प्राप्त गर्ने सम्भावनालाई बलियो वनाउने वताए । पोखरा महानगर पालिका भित्रको पोखराको क्षेत्रिय रंगशालालाई अझ व्यवस्थित गर्न महानगर कार्यालयको पनि उत्तिकै ध्यान जानु पर्ने उनले बताए ।
कुनै बेला धन्नै–धन्नै ड्राइभिङ्ग इन्ष्टिच्युटको थलो बन्न लागेको पोखरा रंगशालामा विकास निर्माणका लागि केही रकम आउनु सुखद पक्ष नै मान्नु पर्ला । अध्यक्ष पौडेलले यसलाई सुरुवाती स्वरुप वताए पनि रंगशालालाई पुर्ण क्षमतावान वनाएर खेल र खेलाडीको भबिष्य सुनिश्चित बनाउनु पर्नेमा कसैको दुइमत नरहला ।
रंगशाला फोटो – गोल नेपाल डटकम