पोखरा न्युज – १६ चैत ।
कास्कीको पर्यटकीय गाउ ताङतिङमा चैत्रको तेश्रो साता ताङतिङ मेला हुने भएको छ ।
पर्यटन प्रबर्द्धन ,स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको बिकास साथै गाउँ वरपर पाइने जैविक विविधताको संरक्षण गर्ने उधेश्यले उक्त मेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ । ताङतिङ युवा क्लवको आयोजनामा “राष्ट्र निर्माण हाम्रो अभियान, ताङतिङ गाउँ प्रकृति र मौलिकता संग रमाऔ” भन्ने मुल नाराका साथ चैत्रको २१ देखि २४ गते मेला संचालन हुनेछ ।
कास्कीको पोखरा देखि २७ किलो मिटर उतर पुर्बमा समुन्द्र सतह देखि १६सय ५० मिटर उचाइमा रहेको ताङतिङमा पर्यटन प्रबर्द्धन, स्थानीय कला संस्कृतिको बिकास गर्न हरेक बर्ष मेला आयोजना गरिदै आएको ताङतिङ युवा क्ल्वका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए ।
मादी गाउँ पालिका वडा नम्बर २ मा पर्ने ताङतिङमा ४ दिन सम्म सञ्चालन हुने मेलाले ताङतिङ गाउमा तयार पारिएका राडि, पाखि, भाङग्रा, डोको नाम्लो, डालो, मान्द्रो, भकारी जस्ता सामाग्री संगै जैविक विविधताले भरिपुर्ण ताङतिङ गाउ आसपासमा पाइने बहुउपयोगी र बहुमुल्य जडीबुटिहरु यार्सागुम्बा, पांच औले, सतुवा, निर्मसी, चिराइतो आदिको प्रबर्द्धन र संरक्षणमा टेवा पुग्ने विश्वास आफुहरुले लिएको गुरुङले बताए ।
मेला अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउँको संस्कृतिसंगै गाउँमा पाइने विभिन्न अर्गानिक परिकार संगै अन्नपूर्ण र लम्जुङ हिमालको मनोरम दृश्यको अवलोकन गर्न सक्ने वताउदै गुरुङले गाउँमा आउने पर्यटकलाइ लक्षित गरी १४ वटा होम स्टे र ५ वटा होटलहरु सञ्चालनमा ल्याएको वताए ।
२९ औ संस्करणको मेलामा संस्कृतिको संरक्षण र प्रबर्द्धन संगै विविध खेलकुदका कार्यक्रमहरुको समेत राखिएको आयोजकले जनाएको छ । मेलामा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, बास्केटबल, छेलो, डोरी तान्ने, सामुहिक लोकनृत्य लगायतका कार्यक्रम हुनेछन ।
विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिवलमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, महिला तर्फ प्रथम र द्धितियलाई क्रमश ३० हजार र २० हजार, पुरुष बास्केटबलमा प्रथमलाई ५० हजार र द्धितियलाई ३० हजार, छेलोमा प्रथम हुनेलाई १० हजार र द्धितियलाई ५ हजार, डोरी तान्ने तर्फ प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार र सांस्कृतिक कार्यक्रम तर्फ सामुहिक लोक नृत्यमा प्रथम हुनेलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई ३० हजार, उत्कृष्ट भेषभुषा ५ हजार र उत्कृष्ट नृत्य निर्देशकलाई ५ हजार, आकर्षक मेडल, प्रमाणपत्र र शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मेला सम्पन्न गर्नको लागि ८ लाख खर्च लाग्ने तथा आम्दानी भएको रकम युवाहरुको खेलकुद बिकास ,क्षमता बिकास , होम स्टे बिकास र स्थानिय कला संस्कृति र जैविक विविधताको संरक्षणमा खर्च गरिने आयोजकले बताएको छ ।