डीएनबी, पोखरा न्यूज – १८, कार्तिक ।
एकुरेसी (स्पट ल्याण्डिङ) इभेन्ट अन्तर्गत स्याङ्जामा भएको प्रथम नेपाल प्याराग्लाईडिङ वर्ल्ड कप २०१८ को उपाधि कोरियाले जितेको छ । तीन दिनको खेलमा ६ राउण्ड सकिंदा कोरियाले १२ अंक हासिल गर्दै उपाधि जित्न सफल भएको हो ।
३ वटा स्वर्ण पदक जित्न सफल भएको कोरियाले खुल्ला, एकल तथा समुह चरणको खेलमा समेत वर्चस्व जमाउन सफल भएको छ । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका कोरियाका स्याङज्यू लिमले दोश्रो दिनको खेलबाट लिड गर्दै ६ राउण्डको खेलमा १२ अंक ल्याउदै खुल्ला तर्फ उपाधि जित्न सफल भए ।
त्यसैगरी ६ राउण्डको खेलमा कोरियाकै अर्का खेलाडी जीहुन हो १५ अंक सहित दोश्रो स्थानमा रहन् सफल भए भने कोरिया कै खेलाडी किम कि हेवन तेश्रो भए । हेवनको समान १५ अंक भए पनि जीहुनको एक राउण्डमा कम अंक रहेको थियो ।
प्रतियोगितामा सोलोभानियाका प्रि–लोजुक रोकले चौथो स्थान हासिल गरेका छन् । प्रतियोगितामा १६ अंक ल्याएका उनी पहिलो दिनको दुई राउण्डको खेलमा भने अग्र स्थान रहेका थिए ।
एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा ३३ अंकका साथमा ८ औं स्थानमा रहे ।
तीन दिन अर्थात ६ राउण्डको खेलमा महिला तर्फ पनि कोरियाका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक हात पार्न सफल भए । कोरियाकी हुनहि किमले ६ राउण्डको खेलमा ५९ अंक ल्याउदै महिला तर्फ उपाधि हात पार्न सफल भएकी हुन् । दोश्रो दिनसम्मको खेलमा प्रथम स्थानमा रहेकी कोरियाकै योनह्याङ चो ७४ अंकका साथ दोश्रो स्थानमा रहिन् ।
त्यसैगरी ६ राउण्डको खेलमा २ सय ११ अंक ल्याउदै इण्डोनेसियाकी गिता रेजकी गुण्टरी तेश्रो स्थानमा रहन सफल भइन्।
त्यस्तै पुरुष टिम विधातर्फ कोरियाले प्रथम र दोश्रो उपाधि हात पार्दा नेपाल तेश्रो स्थानमा आउन सफल भयो । कोरियाले ९३ अंकका साथ स्वर्ण पदक र १ सय ६४ अंकका साथ रजत पदक हात पार्दा नेपालले २ सय ८४ अंकका साथ कास्य पदक हात पार्न सफल भएको हो ।
नेपाली टिममा एसियन गेम्सका रजत पदक विजेता खेलाडी कप्तान विमल अधिकारी, यूकेस गुरुङ, बिशाल थापा र विजय गौतम रहेका थिए । प्रतियोगितामा शुक्रबार २, शनिबार ३ र आइतबार एक राउण्डको खेल भएकोे प्रतियोगिताका अफिसियल पर्सन बालकृष्ण बसेलले जानकारी दिए ।
प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाइडिङ पाइलटहरुले नाम दर्ता गराए पनि १८ देशका ७९ जना खेलाडीहरुको मात्र सहभागीता रहेको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।
विजेता खेलाडीहरुको टोलीलाई गरिवी निवारण तथा भूमि सुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।