पोखरा न्यूज – २९, फागुन । कुल ७६ लाख ४३ हजार ४४ को लागतमा पोखरा –बागलुङ सडकखण्ड अन्तर्गत जिरो किलोमिटरको सडकलाई सुरक्षित बनाइने भएको छ ।
छ लेनको फराकिलो सडकमा बार नहुँदा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्दै तीव्र गतिमा सवारी हाँक्ने गर्दा दिनहुँजस्तो दुर्घटना हुने गरेकोले दुर्घटना न्यूनीकरण गर्न सडकलाई सुरक्षित बनाइने भएको हो ।
सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ से मि उचाइ) निर्माण कार्य बुधवारदेखि शुरु गरिएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार उक्त सडकमा २५ वटा ट्राफिक स्पिड साङ्केतिक पोल राख्न लागिएको छ । सडक सुरक्षाका लागि ट्राफिक पोष्टलाई थप सक्रिय बनाउदै छाडा चौपाया नियन्त्रण कार्य तिव्र पारिएको उनले जनाए ।
उक्त कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखरासँग आगामी जेठ ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको छ ।